तुलसीपुरमा सवारी चालकलाई टाइमकार्ड बाढ्दै ट्राफिक प्रहरी

तुलसीपुर, १४ फागुन ।  आजदेखी दाङको तुलसीपुर–घोराही सडकखण्डमा चल्ने सवारीसाधनमा टाइमकार्ड लागु गरिएको छ । टाइमकार्ड लागु भएसँगै ट्राफिक प्रहरीले धमाधम सवारीचालकलाई टाइमकार्ड बाढ्न थालेको छ । सोमबार १२ बजेसम्म मात्रै तुलसीपुरदेखी घोराही जाने २० वटा बस चालकलाई टाइमकार्ड वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । एउटा टाइमकार्डले एक महिनासम्म काम गर्ने भन्दै ट्राफिक प्रहरीले चालकले एउटा टाइमकार्ड लगिसकेपछी १ महिनासम्म साथमा राख्नुपर्ने बताएको छ ।

तुलसीपुर, नारायणपुर र घोराहीमा ट्राफिक प्रहरीले सो टाइमकार्डमा समय लेखिदिने गरेको छ । चालकले टाइमकार्ड हराएमा स्वयंम जिम्मेवार हुनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । तुलसीपुरदेखी घोराहीसम्म ७० मिनेट समय निर्धारण गरिएको छ भने नारायणपुरदेखी तुलसीपुरसम्म ४० मिनेट र घोराहीसम्म ३० मिनेटको समय निर्धारण गरिएको छ । टाइमकार्डमा उल्लेख गरिएको भन्दा ढिलो पुगेमा फरक नपर्ने भएपनि छिटो गएमा भने ट्राफिक नियम अनुसार कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया