दाङमा लैंगिक हिंसाका घटनामा कमी आउन सकेन

तुलसीपुर,१० मंसिर । दाङमा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा घरेलु हिंसाका ५८ उजुरी परेका छन् । बलात्कार, बलात्कार प्रयास, बहुविवाहलगायत महिलाविरुद्ध हिंसाका ६२ घटना र लंैगिक हिंसाका एक सय ७९ ठाडो उजुरी प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रहरीमा घरेलु हिंसाका एक सय २९ उजुरी परेका थिए भने बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बोक्सीको आरोपलगायतका महिलाविरुद्ध हिंसाका एक सय ७७ घटना थिए । यो वर्ष जिल्लामा लैंगिक हिंसासम्बन्धी ठाडो उजुरी लिएर आउनेको संख्या चार सय ३१ थियो । त्यस्तै गत आर्थिक वर्ष २०७९÷०८० मा घरेलु हिंसाका एक सय २८, बलात्कार, बलात्कार प्रयास, बहुविवाहलगायतका एक सय ७४ घटना दर्ता भएका थिए । यो वर्ष जिल्ला प्रहरीमा लैंगिक हिंसाका चार सय ५४ ठाडो उजुरी परेका थिए ।
प्रहरीमा परेका उजुरीलाई मात्र हेर्दा पनि जिल्लामा लैंगिक हिंसाका घटनाहरुमा कमी आएको देखिदैन । जिल्लामा मात्र होइन, देशभर पछिल्लो एक वर्षमा देशभर लंैगिक हिंसाका २० हजार आठ सय ८० घटना भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा लंैगिक हिंसासम्बन्धी मुद्दा दर्ता भएका हुन् । प्रहरीका अनुसार समग्र लैंगिक हिंसा सम्बन्धी अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । प्रहरीका अनुसार सो अवधिमा घरेलु हिंसाका १६ हजार पाँच सय १९, बलात्कारका दुई हजार तीन सय ८७, बलात्कार प्रयासका पाँच सय १८, अपहरणपछि बलात्कारका ५९, बलात्कारपश्चात कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा बलात्कारका १० वटा घटना भएका छन् ।
यो वर्ष देशभर बालयौन दुव्र्यवहारका तीन सय ४३, अप्राकृतिक मैथुनका ३५, बहुविवाहका सात सय २३, बालविवाहका ५२, बोक्सी आरोपका ४३, मानव बेचबिखनका एक सय २४, अवैध गर्भपतनका ३२, तेजाब प्रहारका तीन र जातीय छुवाछुतका २७ वटा घटनामा प्रहरीले मुद्दा दर्ता गरेको देखिएको छ । त्यस्तै प्रहरीमा पर्ने कुल उजुरीको ३१ प्रतिशत लैंगिक हिंसासम्बन्धी रहेका छन् । प्रहरी तथ्यांक अनुसार घरेलु हिंसाका घटना मधेश प्रदेशमा सबभन्दा बढी र कर्णाली प्रदेशमा सबभन्दा कम दर्ता भएका छन् । आजको नयाँयुगबोध दैनिकबाट साभार गरिएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया