सल्यान, ८ भदौ । सल्यानको छत्रेश्वरी गाउँपालिका कार्यालय परिसरमा पालिका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीले सरसफाई गरेका छन् । भोटेचौर स्थित गाउँपालिका कार्यालय वरिपरि रहेका मिचाहा झार लगाएत अनावश्यक झार र फोहोर हटाइएको गाउँपालिकाले जनाएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमार खत्री लगाएत गाउँपालिकामा कार्यरत कर्मचारीहरुले नियमित सरसफाई अभियान अन्तर्गत श्रम गरेका थिए । म बनाउँछु मेरो छत्रेश्वरी भन्ने नारालाई आत्मसाथ गरेर अघि बढिरहेको बताउँदै गाउँपालिका अध्यक्ष बुढाथोकीले आफ्नो वासस्थल र कार्यस्थलमा फोहोर फैलिन नदिनका लागि सबैले नियमित सरसफाई गर्नुपर्ने बताए । आफ्नो घर र वरपर मात्र नभई चोक, चौतारा, विद्यालय, मन्दिर, धारा, पँधेरा आदि सार्वजनिक स्थानको सरसफाइप्रति पनि सचेत बन्नुपर्ने उनको भनाई छ ।
स्वस्थ जीवनका लागि सरसफाई महत्वपूर्ण रहेको भन्दै गाउापालिका उपाध्यक्ष खत्रीले वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार हुने बताइन् । सरसफाई कार्यक्रमलाई नियमित रुपमा लैजानुपर्ने उनको जोड छ । “सफा राखौँ कार्यस्थल, स्वच्छ रहोस् वासस्थलः निश्चित ठाउँमा फोहोर फ्याकौँ, बनौँ सभ्य र असल” भन्ने नाराका साथ गाउँपालिकाले सरसफाई अभियान चलाएको छ ।
गाउँपालिका परिसरमा पछिल्लो समय मिचाहा प्रवृत्तिको हानिकारक झार तिब्र रुपमा फैलिरहेकाले यसको नियन्त्रणका लागि पनि सरसफाई अभियान फलदायी हुने गाउँपालिकाको अपेक्षा छ । गत बुधबार समपन्न गाउँपालिका कर्मचारी बैठकमा पनि पालिकाभरी सरसफाई अभियान सञ्चालनका सन्दर्भमा निर्णय भएको थियो । आफ्नो कार्यालय वरिपरि नियमित रुपमा सरसफाई गर्न र कार्यालय परिसरको सौन्दर्यताका लागि वृक्षारोपण लगाएतका क्रियाकलाप सञ्चालन गर्न गाउँ कार्यपालिका कार्यालयले मातहतका सबै कार्यालय, शाखा, इकाईहरुलाई अनुरोध गरेको छ ।