तुलसीपुर २५,साउन । दाङको तुलसीपुरमा रहेको मेट्रो कलेजमा सामुदायिक वन दिवस मनाइएको छ । उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन भन्ने नाराका साथमा वृक्षारोपण गरेर कलेजले दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख टिकाराम खड्काले वन संरक्षणमा सामुदायिक वनले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो । उहाँले समुदायले अपनत्व गरेर जोगाएको सामुदायिक वनलाई उद्यमसँग जोड्न आवश्यक रहेको कुरामा समेत जोड दिनुभएको थियो । ‘सामुदायिक वन जनताको हो र यसले जनताको जीवनस्तरमा फेरबदल ल्याउन सक्नुपर्दछ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले भन्नुभयो ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका चितवनका प्रमुख प्रल्हद सापकोटाले वनका संरक्षणमा विद्यार्थीको भुमिका अहम् हुने बताउँदै वन मानवका लागि जीवन भएको कुरामा समेत जोड दिनुभयो । यस्तै ग्रिन फाउन्डेशन दाङ्गका अध्यक्ष विष्णु केसीले पनि वनलाई उद्यमसँग जोड्नका लागि सामुदायिक वनको महत्व अहम् रहेको कुरामा दिनुभयो ।
यस्तै कलेजको नवनिर्मित भवनको प्राङ्गणमा १ सय भन्दा बढि विरुवा समेत रापिएको छ । विरुवाको सहयोग ग्रिन फाउन्डेसन दाङले गरेको थियो ।