तुलसीपुर, वैशाख ४ । संघीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्रअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा कार्यान्वयन गर्न थालिएको छ । संघीय सरकारले जिल्लाका दश वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । कागती पकेट क्षेत्र घोषणासँगै कागती खेतीको बिस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले खेती बिस्तार, प्राविधिक दक्षता, रोग किरा नियन्त्रणको काम अघि बढाएको छ । पहिलो चरणअन्तर्गत व्यावसायिक रुपमा कागती खेतीका लागि किसानहरूलाई प्राविधिक दक्षताको काम सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमका अनुसार कागती खेती गरिरहेका किसान र खेती गर्नका लागि इच्छुक किसानका लागि गुणस्तरीय बिरुवा उत्पादन, व्यावसायिक सीपको दक्षताका लागि तालिम सुरु गरिएको छ । किसानहरूलाई व्यावसायिक कागती खेती गरिरहेका ठाउँमा पुगेर सीप प्रदान गरिने उहाको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाको अन्नबाली कम उत्पादन हुने वडा नम्बर १,३,४,१९,१८ ्मा कागती खेतीको विस्तार गर्न सकिने उहाले बताउनुभयो । शाखा प्रमुख गौतमले कागती खेतीमा देखिने रोग किराको नियन्त्रण र व्यवसायीक खेतीलाई प्रोत्साहन गरिने र एक पटक कागतीको बिरुवा रोपे २५ वर्षसम्म उत्पादन गरेर आम्दानी गर्न सकिने उहाको भनाई । नगरप्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र संघीय सरकारबाट घोषण भएसँगै कार्यान्वयनको चरणमा पुगेकाले यसको विस्तार बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले कागती खेतीलाई व्यावसायिकका साथै एक घर एक कागती बिरुवा रोप्ने कार्यलाई अभियानकैरुपमा अघि बढाइने बताउनुभयो ।
आर्थिक विकास समितिका संयोजक माधव वलीले स्थानीय उत्पादनलाई बढावा र प्रोत्साहन दिनका लागि तरकारी र फलफूल बजार क्षेत्रमा बिक्री वितरणका लागि कृषिजन्य वस्तु बिक्री वितरण परिचय पत्र वितरण गर्न थालिएको बताउनुभयो । उहाँले किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री वितरणका लागि प्रत्येक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म समय तोकिएको बताउनुभयो । यसैबीच किसानहरुलाई व्यावसायीक रुपमा कागती खेती गर्नका लागि प्राविधिक तालिमको सुरु गरिएको छ । आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।