चैत १३ नेपाल नेत्रज्योति संघ दाङ शाखाले ४५ औं नेत्रज्योति दिवस मनाएको छ । हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने मुल नाराका साथ संघले दिवस मनाएको हो । अन्धोपन निवारणका लागी नेपालमा २०३५ सालमा नेपाल नेत्रज्योति संघ स्थापना भइ अन्धोपन निवारणमा संघले उदाहरणीय काम गरेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण कुमार गिरीले बताउनुभयो । दुर्गम भेगहरूमा धेरै मानिसहरको दृष्टि फर्काएर नयाँ जीवन दिएको गिरीको भनाइ छ । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पतालले हजारौं व्यक्तिहरूलाई दृष्टि प्रदान गरेको संघका सचिव सुरेन्द्र बहादुर खड्काको बताउनुभयो । अन्धोपन न्यूनीकरण गर्न राज्यका सबै संयन्त्रहरू जिम्मेवार हुनुपर्छ खड्काले भन्नुभयो । मुनाफारहित संस्थाले दृष्टि गुमेकाहरुलाइ दृष्टि दिन संघ अन्तर्गत सञ्चालित आँखा अस्पताल र आँखा उपचार केन्द्रले गरेको कार्यहरू उदाहरणीय रहेको प्रति मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदीले खुसी व्यक्त गर्नुभएको छ ।
सेवालाई अझ प्रभावकारी रूपले अगाडि बढाउन आफूहरूको निरन्तरता सदैव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।। । यसैबीच दिवसको अवसर पारी तुलसीपुर ४ नेत्रज्योति टोलका स्थानीयलाई नजिकको चश्मा वितरण गरिएको छ भने शल्यक्रिया गरेका बिरामीहरूलाई फलफूल वितरण पनि गरिएको छ । अन्धोपनबाट बच्न तथा नजिकको दृष्टि कमजोर भएर चश्मा किन्न नसकेका व्यक्तिलाई चश्मा दिई सहज जीवनयापन गर्न मद्दत पुगेको सेवाग्राही नोखिराम वली बताउनुहुन्छ । यस्तै आर्थिक अभावका कारण चश्मा किन्न नसकेर वसेका वृद्धवृद्धाले पनि नजिकको चश्मा पाएपछि घरको स सानो कामहरू आफै गर्न सहज हुने रमा सुवेदीको भनाइ छ ।
अस्पतालले निशुल्क चश्मा वितरण गरेर पुण्य कमाएको उनको भनाइ छ । राप्ती आँखा अस्पतालमा आएका ४० वर्षमाथिका १ सय ३ जनालाई लेखपढ र काम गर्न सहज होस भनेर नजिकको चश्मा वितरण गरिएको दृष्टि विशेषज्ञ ओम प्रकाश यादवले जानकारी दिनुभयो । कार्यक्रममा संघका सल्लाहकार नेत्रमणि लामिछाने, कोषध्यक्ष श्याम प्रकाश आर्चाय, आजीवन सदस्यहरू, अकुलोप्लास्टिक सर्जन तथा आँखा क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइली, कोर्निया विशेषज्ञ डा. ज्योति सापकोटा, बालनेत्र रोग विशेषज्ञ डा. नीता सोनाम, निवर्तमान प्रशासकीय अधिकृत किरण पौडेल, वाह्य कार्यक्रम अधिकृत शालिकराम गौतम, सुचना अधिकारी बालाराम खड्का लगाएतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका सह सचिव चिरन्जीवि रिजालले गर्नु भएको थियो ।
त्यसैबीच छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले पनि फलफूल वितरण तथा नजिकको चश्मा वितरण गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । त्यस्तै लमही आँखा अस्पतालमा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ । लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अन्धोपन न्यूनिकरणमा संघद्धारा सञ्चालित अस्पतालहरूले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै आफूहरूले पनि अन्धोपन न्यूनिकरणमा सहकार्य गरि आगाडि बढेको बताए । उनले नगरमा कोही पनि अन्धोपनमा जीवन बिताउन नपर्ने भन्दै निःशुल्क उपचार सेवा दिने बताए । कार्यक्रममा वडा न १ का अध्यक्ष दामोदर पौडेल ,नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशमा कोषाध्यक्ष लिला शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल नेत्रज्योति संघका जिल्ला सदस्य शेषमणि गौतमको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यालय सहायक टेकबहादुर चौधरीले गरेका थिए ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।