तुलसीपुर, १३ चैत्र । नेपाल नाई संघले कपाल काटेको शुल्कमा ५० प्रतिशतले वृद्धि गरेपछि विरोध हुन थालेको छ । तुलसीपुर क्षेत्रका नाई व्यवसायीहरूले कपाल काटेको शुल्कमा ५० रुपैयाँले वृद्धि गरेपछि त्यसको विरोध हुन थालेको हो । व्यवसायीले कपाल काटेको एकैपटक ५० रुपैयाँ बढाएर एक सय ५० रुपैयाँ पुर्याएका छन् । त्यसैगरी दाह्री काटेको ८० रुपैयाँबाट एक सय रुपैयाँ पुर्याएका छन् । नेपाल नाई संघ तुलसीपुरले गएको माघ १५ गतेदेखि कपाल र दाह्री काटेको शुल्कमा वृद्धि गरेको हो । यसैबीच व्यापक जनगुनासो आएपछि मूल्य समायोजनका विषयमा तुलसीपुरमा छलफल समेत भएको छ ।
स्थानीय सरकार र व्यापारिक संगठनसंग कुनै छलफल नगरेर एकतर्फी शुल्क वृद्धि गरेकाले तत्काल निर्णयमा पुर्नर विचार गर्न आग्रह गरेको तुलसीपुर उद्योगवाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारीले बताउनुभयो । ‘चारैतिर मूल्य बढेको छ । नाई संघले पनि १०/१५ प्रतिशतले बढाउँदा स्वभाविकै हुनेथियो । तर एकैपटक कुनै सल्लाह नगरेर ५० प्रतिशतले शुल्क वृद्धि गर्दा उद्योगवाणिज्य सङ्घलाई यो कुरा मान्य हुँदैन ।’ भण्डारीले भन्नुभयो ।
यता नेपाल नाइ संघका अध्यक्ष वैद्यनाथ ठाकुरले जिल्लासँग एक हप्ताभित्र छलफल गरेर मात्रै शुल्क समायोजनका विषयमा निर्णयमा पुग्न सकिने बताउनुभएको छ । जिल्लाले नै कपाल, दाह्री काटेको दररेट नै तोकेर पठाएपछि आफूहरू सोही बमोजिम शुल्क लिएको ठाकुरले बताउनुभयो । तुलसीपुरमा भिआइपीका नाममा खुलेका कतिपय व्यवसायीहरूले कपाल र दाह्री काटेको दुईसय रुपैयाँदेखि अढाईसय रुपैयाँसम्म लिने गरेकाले आफूहरूको त्यो अनुपातमा कम भएको ठाकुरको भनाई छ । तुलसीपुरमा करिब ७५ को हाराहारीमा नाई व्यवसायी भएपनि दर्ता भने करिब ४० वटा मात्र भएको संघले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीको अध्यक्षतामा बसेको छलफलमा तुलसीपुर उपमहानगरपालिका सुशासन समितिका संयोजक धर्मराज वली, ६ नम्बर वडा सदस्य देवी पोख्रेल, ५ नम्बर वडा सदस्य भिमबहादुर केसी, रेडियो प्रकृति एफएमका प्रतिनिधि प्रेमकुमार मगर लगायतको सहभागिता रहेको थियो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।