तुलसीपुर, २२ फागुन । वन तथा जलवायु विज्ञको टोलीले दाङको तुलसीपुरमा रहेको नेपालकै पहिलो सामुदायिक रेडियो प्रकृति एफएमले उठाउँदै आएका वन तथा वातावरणका मुद्दाको विषयमा जानकारी लिएको छ । फिनल्याण्डबाट आएको वन तथा जलवायु विज्ञ नुरा सीमोला र एफएफडीका कार्यक्रम संयोजक तथा लैलिङ्ग विज्ञ जेनी ओमनले रेडियोले स्थापनाकालदेखि उठाउँदै आएका वनका सवाल र त्यसले पारेका प्रभावका बारेमा स्टेसन म्यानेजर ओपेन्द्र बस्नेतसँग जानकारी लिएको हो । रेडियोले हरेक कार्यक्रममा प्राकृति स्रोत जल, जमिन, जंगलमाथि स्थानीय समुदायका अधिकार स्थापितसँगै महिलाको आर्थिक सशक्तीकरण, वन उद्यम, कृषि, पर्यटन लगाएतका मुद्दालाई प्राथमिकता दिने गरेको बताउनुभयो ।
वन वातावरणका मुद्दासँगै रेडियो जोडिएकाले सामुदायिक वनहरुसँग सहकार्य गरेर अघि बढि रहेको बताउन स्टेसन म्यानेजर बस्नेतले जानकारी दिनुभयो । नेपालमा समाज रूपान्तरणको पाटोमा महत्वपूर्ण भूमिका खेल्दै आएका सञ्चार माध्यमको जति प्रशंसा गरे पनि कम हुने बताउँदै जलवायु विज्ञ नुराले विश्वकै लागि चुनौतिपूर्ण बन्दै गएको जलवायु परिवर्तन अनुकुलनका लागि सञ्चार माध्यमहरू अझ शसक्त भएर जनतामा सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रिय कार्यक्रम संयोजक जनक आचार्य, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका कार्यक्रम संयोजक विद्याराज कडेल, सचिव भुव बहादुर केसी, नमूना महिला सामुदायिक वन समूहका अध्यक्ष रक्षा काफ्ले, पूर्व जनप्रतिनिधि इन्द्रजित चौधरी लगायतको सहभागिता रहेको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।