२०८३ मङ्सिर ९ गते बुधवार

गठबन्धनलाई हराउँदै राप्ती शान्ति उद्यानकाे अध्यक्षमा एमालेका भण्डारी विजयी

 

तुलसीपुर ९ पुस ।  दाङको तुलसीपुर –७ स्थित राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज भण्डारी निर्वाचित हुनु भएको छ । गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिनुभएकी नेपाली काँग्रेसकी इन्दिरा शर्मा रिजाललाई १ सय ६३ मतको अन्तरले पछि पार्दै भण्डारी निर्वाचित हुनुभएको हो । भण्डारीले २ सय ९७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी रिजालले १ सय ३४ मत ल्याउनु भएको थियो ।

त्यसैगरी कोषाध्यक्षमा एमालेका ढुण्डीराज पराजुलीले गठबन्धनबाट कोषाध्यक्षका उम्मेदवार कांग्रेसका चिरञ्जीवी रिजाललाई ८७ मतको अन्तरले पराजित गर्दै विजयी हुनु भएको छ । पराजुलीले २ सय ५३ मत ल्याउँदा रिजालले १ सय ६६ मत ल्याउनु भएको थियो । ४ सय ७३ जना मतदाता संख्या रहेको पार्कमा शनिबार अध्यक्ष र कोषाध्यक्षका लागि भएको निर्वाचनमा ४ सय ५१ मत खसेको थियो । गठबन्धनको अङ्क गणितको हिसाबले काङ्ग्रेसकी रिजालको पल्लाभारी हुने अवस्था थियो । तर स्थानीयले भने यसपटक पार्टी भन्दा व्यक्ति हेरे । जसका कारण पार्कको निवर्तमान अध्यक्ष समेत रहनुभएका भण्डारीले पार्कमा गरेको विकासका दृष्टिकोणले कम्जोर हुँदाहुँदै पनि भारी मतको अन्तरले विजयी भएको स्थानीय भुवन भुसालले बताउनुभयो । 

जस मध्य २० मत बदर भएको निर्वाचन समितिका संयोजक लोकमणि पोखरेलले बताउनुभयो । मंसिर २४ गतेको भएको पार्कको साधारणसभामा सचिव र ६ जना सदस्य सहमतिमा चयन भएपनि कोषाध्यक्ष र अध्यक्षमा सहमति जुट्न नसकेपछि शनिबार निर्वाचन भएको थियो । वार्षिक ५० देखि ५५ लाख आम्दानी गर्दै आइरहेको पार्कमा सरदर दैनिक ५ सय देखि ६ सय सम्म आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् ।

सिजनमा एकै दिन १५ सयसम्म पर्यटकहरु आउने गरेको पार्कका व्यवस्थापक खेतु प्रसाद भण्डारीले जानकारी दिनुभयो । पार्कमा पहाडको झरना, परि, वाटर फाउन्टेन, प्राचीन घडि, मिनी जु, गौतम बुद्धको मूर्ति, मेक्सीको दुबो, गार्डेन, चिल्ड्रेन पार्कले पर्यटकलाई आकर्षण गर्ने गरेको व्यवस्थापक भण्डारीले बताउनुभयो । पार्कमा दाङ सहित, सल्यान, रोल्पा, रुकुम, प्यूठान, बुटवल, महेन्द्रनगर, धनगढीबाट बढी पर्यटक आउने गरेका छन् । पार्क प्रवेश शुल्क भने ३० रुपैयाँ कायम गरिएको छ ।।

 

 

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।