तुलसीपुर, ७ पुस । तुलसीपुर हापुरे सडकको सुर्खेत रोडदेखि भिमसेन मेट्रो अस्पतालसम्मको नाला निर्माणको काम सम्पन्न भएको छ । संघिय सरकारकारको समानीकरण शीर्षक अन्तर्गत ४१ लाख ८८ हजार ६ सय ८२ रुपैयाँ लागतमा करिब ९ सय मिटर आरसी नाला निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिनुभयो ।
साँगुरो सडक र त्यस पनि नाला नहुँदा बर्सातको भेलले कटान गर्दा सडकमा ओहरदोहर गर्न निकै सास्ती खेप्दै आएका त्यस क्षेत्रका नागरिकलाई अहिले भने राहत भएको छ । ६ मिटरको सडक अहिले १२ मिटर चौडा गरेर नाला निर्माण गरिए पछि फराकिलो देखिएको छ । नाला निर्माण सम्पन्न भएसंगै कालोपत्रेका लागि प्रकृया अघि बढाएको वडा अध्यक्ष वलीले बताउनुभयो ।
सडक कालोपत्रे गर्न आवश्यक पर्ने बजेटका लागि उपमहानगर मार्फत लागत इस्टमेट गरेर सङ्घमा फाइल पठाएको अध्यक्ष वलीले बताउनुभयो । आयोजना सम्पन्न गर्न ९३ लाख ५६ हजार ७ सय ९० रुपैयाँको लागत स्टमेट गरेपनि थ्रि.जी कन्ट्रक्सन प्रालि सल्यानले कबोल अङ्क भन्दा घटेर ४१ लाखमा ठेक्का लिएको थियो ।
२०७९ असार २५ गते निर्माण कार्य पुरा गर्नेगरी २०७८ चैत्र १४ गते सम्झौता गरेको निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसकेपछि म्याद थप गरेर नाला निर्माणको काम पुरा गरेको हो । यसैबीच उक्त आयोजनाको अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीको नेतृत्वमा प्राविधिक सहितको टोलीले अनुगमन गरेको हो । नाला निर्माणसंगै सडक चौडा भएपछि त्यस क्षेत्रका नागरिकहरू खुशी भएका छन् ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।