२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरका आधिकांश पसलमा अखाद्य बस्तु फेला

 तुलसीपुर, २ कार्तिक । तुलसीपुर बजारका आधिकांश पसलमा अखाद्य बस्तु फेला परेको छ । चाडपर्वलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले ११ वटा पसलमा अनुगमन गर्दा  ८ वटा पसलबाट अखाद्य बस्तु फेला परेको शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । त्यसमा पनि अधिकांश ठूला खाद्यान्न पसल भन्दा साना किराना तथा खुद्रा पसलहरूमा अखाद्य बस्तुहरू भेटिएका थिए ।

अनुगमनका क्रममा म्याद नाघेका, लेबल टाँस नगरेका अचार, जिरा मसला, बिस्कुट, घ्यू, चिल्ली संस, बेसार लगायत पेय पदार्थ बरामद गरेर नष्ट गरिएको थियो । त्यसैगरी कतिपय पसलहरूले मूल्य सूची टाँस नगरेको, खाद्य  र अखाद्य बस्तु छुट्याएर नराखेको र केही पसल दर्ता समेत नगरेर सञ्चालनमा आएको पाइएको थियो । अनुगमन टोलीले पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर छाडेको छ । अनुगमन टोलीले आगामी दिनमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्नेगरि उपभोग्य बस्तु बिक्री बितरण गरेमा कारबाही प्रकृया अघि बढाइने चेतावनी दिएको छ । अनुगमन टोलीले खाद्य तथा किराना पसलमा अनुगमन गरेको थियो ।

चाडपर्वको बेलामा अखाद्य बस्तुबाट उपभोक्ताहरू बढी ठगिने भएकाले केही समय यता तुलसीपुर क्षेत्रमा अनुगमन कार्यलाई तिव्रता दिएको छ । अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष केशव शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण तुलसीपुरका खाद्य निरीक्षक राजेश कुमार चौधरी, उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर  भट्टराइ,  सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया