तुलसीपुर, १२ असार । सांसद हिरान्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीको हेरफेर गरेपछि दाङको तुलसीपुर निबासी केसी स्वास्थ्य राज्यमन्त्री हुनुभएको हो । केसी संगै दाङकै मेटमणि चौधरी शहरी विकास मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुनुभएको हो ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।
संसदमा आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो । तर लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमानको रुपमा बुझ्ने चेतावनी दिएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।