२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरको सपना : समाजवाद उन्मुख, सुन्दर र नमूना शहर

उपचारदेखि एम्बुलेन्स सेवा निशुल्क

तुलसीपुर, ४ असार । तुलसीपुर उपमहानगरपालिकाले उपचारदेखि एम्बुलेन्स सेवा निशुल्क गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले समग्र विकास, आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र नमूना शहर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख घनश्याम पाण्डेले उपमहानगर क्षेत्रमा विपन्न परिवारवारलाई उपचार र जेष्ठ नागरिक, सुत्केरी र बालबालिकालाई निशुल्क एम्बुलेन्सको सेवा दिने बताउनुभयो ।

समृद्ध तुलसीपुरः सबैका लागी सधैका लागि भन्ने नारा सहित उपमहानगरको ९ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेले अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्ने व्यवस्था मिलाईने छ भने सबैलाई स्वास्थ्य बिमा गर्न प्रोत्साहित गरिने छ । स्वास्थ्य बिमा गर्ने परिवारलाई राजश्वमा १० प्रतिशत छुट दिइने छ ।

त्यसैगरी आगामी बर्ष कक्षा ८ सम्मको शिक्षा पूर्ण निशुल्क र अनिवार्य गरिने छ भने प्राबिधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक बिद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा, दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनआन्दोलनका घाइते परिवारवालाई निशुल्क अध्ययन अध्यापन गर्न मेयर छात्रबृत्ती कार्यक्रम प्रदान गरिनेछ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका दलित छात्रा, अपाङ्गता भएका, शहिद परिवार तथा जनआन्दोलनका घाइते मध्यबाट मेडिकल, इञ्जिनयरिङ र प्राविधिक शिक्षामा स्नातक (कृषि, वन , पशु सेवा, कानुन र प्राविधिक शिक्षा) अध्ययन गर्ने एक–एकजनालाई सामुदायिक तथा सरकारी शैक्षिक संस्थामा अध्यन गरेमा मासिक पाँच हजार छात्रवृत्ती उपलब्ध गराइने छ ।

त्यसैगरी नीति तथा कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको प्रतिव्यक्ती आय हाल ११३१ डलर रहेको र पाँच बर्षमा २००० डलर पु¥याउने लक्ष्य बमोजिम आगामी आबमा १२५० पु¥याइने, तुलसीपुर उपमहानगरपालिकाको साक्षरता प्रतिशत ९७ रहेकोमा आगामी आबमा ९९ पु¥याइने, पाइपलाइनबाट खानेपानी सुविधा पुगेका घरपरिवार ५३.७९ प्रतिशत रहेकोमा आगामी आवमा ६० प्रतिशत पु¥याइने उल्लेख ।

त्यसैगरी माध्यमिक शिक्षामा भर्ना दर ४४ प्रतिशतबाट बढाएर ४७ प्रतिशत पु¥याउने, बाल तथा मातृ मृत्युदरलाई शुन्यमा कायम राख्ने, उपमहानगरपालिकामा पक्की सडक १२०.१८ किलोमिटरबाट बढाएर आवमा २०० किलोमिटर पु¥याइने लक्ष्य लिएको छ भने स्मार्ट छोरी कार्यक्रम अन्तर्गत दिइदै आएको प्रोत्साहन रकम आगामी बर्षमा दोब्बर गर्ने , महिलाले दर्ता गर्ने कुने पनि उद्योग पसल निशुल्क गर्ने , थारु कला, संस्कृति र भाषालाई प्रवद्र्धन गरिने भएको छ ।

व्यवसायीक कृषि तथा पशुपालनका माध्यमवाट खाद्यसुरक्षाको सुनिश्चिता र पर्यापर्यटनको विकास गरी आर्थिक बृद्धी तथा रोजगार सृजना गर्ने , सडक, पुल, विद्युत, सञ्चारको योजनावद्ध विकास सहितको व्यवस्थित बस्ती विकास र यातायातमा सहजता ल्याई स्मार्ट शहरको रुपमा तुलसीपुरको विकास गर्ने, आगामी बर्ष बजेटलाई लक्ष्य, उद्देश्य र परिणाममुखी बनाउने, साना–साना टुक्रे आयोजनामा भन्दा ठूला, बहुबर्षिय आयोजनालाई बजेटमा प्राथमिकता दिइने, उपमहानगरपालिकाले संचालन गर्ने सबै कार्यक्रम, नीति, खर्च, सबै सार्वजनिक गर्ने, नियमित सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने व्यवस्था मिलाउने,

ढुङ्गा, गिट्टी, बालुवा, संकलन, ढुवानी र व्यवस्थापनलाई पारदर्शी, र दिगो बनाउनका लागि उच्च स्तरिय अनुगमन संयन्त्र बनाई आवश्यक कार्य गर्ने , सबैखाले विभेदको अन्त्य गर्दै सामाजिक न्याय, सुशासन, र दिगो शान्ति र समतामुलक समाज निर्माण गर्न प्राथमिकता दिने, तुलसीपुर उपमहानगरपालिकालाई आगामी आर्थिक बर्षमा सहयोगापेक्षी सडक मानवमुक्त नगरको रुपमा घोषणा गर्नेगरी आवश्यक कार्य गर्ने , दाङ बिमानस्थललाई स्तरोन्नती गर्दै अन्तराष्ट्रिय स्तरको पाइलट शिक्षण गर्ने, छिल्लीकोट केबलकार स्थापनाका लागि अध्ययन भैसकेकोले यसैबर्ष यसको डिपिआर तयार गर्ने , दिर्घकालिन तथा आबधिक योजनालाई प्रभावकारीढंगले कार्यान्वयन गर्न अर्गनाइजेशन एण्ड म्यानेज्मेण्ट सर्भे (ओ एण्ड एम् सर्भे) तथा मध्यमकालिन खर्च संरचना दस्तावेज तयार नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी २५ बर्षे दिर्घकालिन रणनीतिक योजनाले दिशाबोध गरेका स्मार्ट सिटी, जनशक्ती विकास केन्द्र स्थापना, सामुदायीक पुस्तकालय, मनमोहन गणेशमान विज्ञान तथा प्रविधि क्याम्पस, मेडिकल कलेज सञ्चालन, बाल अस्पताल सञ्चालन, मेट्रो हस्पिटल सञ्चालन, ज्येष्ठ नागरिक अस्पताल, क्रान्ति संग्रहालय, स्पोर्ट सिटी, तुलसीपुर चक्रपथ, पर्यटकीय गन्तव्यको शहर, औद्योगिक ग्राम, बेलझुण्डी ट्विन टावर, स्मार्ट स्याटेलाइट शहर र मेट्रो रेल सञ्चालनका काम सार्वजनिक, निजी साझेदारीका माध्यमबाट सम्पन्न गरिने समेत उल्लेख छ । नीति तथा कार्यक्रम माथि वडा सदस्यहरु सुबाश डिसी, युवा करारा, इन्द्रजीत चौधरी लगाएतले टिप्पणी गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।