तुलसीपुर, २८ कात्तिक । यस वर्षको यमपन्चक अर्थात तिहारको पहिलो दिन आज काग तिहार ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यमपन्चक विहिवार बेलुकी देखी सुरु भएता पनि काग तिहार भने आज परेको छ । यस वर्ष यमपञ्चक अघिल्नो दिनदेखी यमदीप दान सुरु गरिएको छ । काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो ।
यस दिन कागको पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।कागलाई आज मिठा परिकार बनाएर खान दिने र पुज्ने चलन छ ।
यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसैदिन परेको समितिले जनाएको छ ।यस्तै कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । दिउँसो १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ ।मङ्सिर १ गते मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।