दाङ (बबई) / ‘कुनै सार्वजनिक सभा सम्मेलन गर्नु प¥यो भने खुल्ला आकासमुनि खुल्ला चौरको विकल्प नै थिएन । कार्यक्रम गर्न विद्यालय खोज्नु पर्ने त्यसमा पनि अझ विदा भएको दिन पार्नलाई शनिबार पर्खिनु पर्ने ।’ स्थानीय चुर्णबहादुर वलीले भन्नुभयो ‘सामुदायिक वन, खानेपानी, विद्यालय अथवा कुनै सार्वजनिक सरोकारका महत्वपुर्ण छलफल गुर्न प¥यो भने पनि चौरमा गर्नु पर्ने बाध्यता थियो ।’
तर यो बाध्यता अहिले टरेको छ । बबई गाउँपालिकाको पहलमा ५– नं प्रदेश सरकारको ५८ लाख ३४ हजार ७ सय ५५ रुपैयाँको लागतमा पाँच सय जना अट्न सक्ने क्षेमताको बहुउद्देश्यीय सभाहलको निर्माण भएपछि अब कार्यक्रम कहाँ गर्ने होला भन्ने समस्याको अन्त्य भएको छ ।
‘खुल्ला चौर र खुल्ला आकाश मूनि कार्यक्रम गर्दा हावाहुरी र असिनापानीले बिथोलीदिने गथ्र्यो,’ हापुरे उद्योगबाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आईतबारे विगत सझिदै भन्नुभयो –‘अब त घामपानी, हावाहुरी असिनापानी जे आए पनि कुनै मतलव छैन । सभाहल छँदैछ ।’
ठूलो संख्यामा सहभागी अटाउन सक्ने गरि पहिलो पटक पश्चिम दाङमा बनाइएको बहुउद्देश्यीय सभाहललाई यस क्षेत्रका स्थानीयले ठूलो उपलब्धी र सम्पतीका रुपमा लिएका छन् ।
कुनै सामाजिक सभा, समारोह तथा अन्य औपचारिक कार्यक्रमका लागि बबई गाउँपालिकाको बहुउद्देश्यीय सभाहल कोसेढुङ्गा सावित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले बताउनुभयो । सभाहल निर्माण भएसंगै स्थानीयदेखि केन्द्रीय स्तरका ठूल–ठूला कार्यक्रमहरु समेत भएका छन् । तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारका बिचमा पहिलो पटक हापुरेमा भएको शन्ति बार्तामा सहभागीलाई ल्याएर सभाहलमा शान्ति सम्मेलन समेत गरिएको छ । बहुउद्देश्यीय सभाहले पनि पश्चिम दाङको हापुरेलाई चिनाउन थप बल पुगेको छ ।
‘विशेषगरी गाउँसभा र कार्यपालिकाको बैठककालागि सभाहल अधिकतम उपयोगमा आएको छ । ‘सभाहल नभएको भए गाउँसभा र कार्यपालिकाका बैठक खुल्ला चौर अथवा विद्यालयका हलकोठा खोज्नु पर्ने हुन्थ्यो,’ गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले भन्नुभयो –‘आफनो सभाहल हुँदा आनन्द छ । कुनै समस्या पनि छैन् । कोसंग हल कोठा खोजौं र मागौं भन्नु पर्ने अवस्था पनि छैन् ।
गाउँपालिकाले यो सभाहललाई पश्चिम दाङको महत्वपुर्ण गौरबको योजनाको रुपमा लिएको छ । गाउँपालिकाले सभाहल प्रयोग गर्नेलाई पाँच हजार रुपैयाँ समेत शुल्क लिने गरेको छ । सभाहलको व्यवस्थापनका लागि एकजना कर्मचारी खटाएको गाउँपालिकाले यसलाई आम्दानीको स्रोतका रुपमा पनि लिएको छ ।
२०७५ कार्तीक ४ गते शिलन्यास गरिएको सभाहलको ९ महिनामा निर्माण कार्य पुरा गरेर २०७६ साउन ३२ गते ५–नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेपछि संचालनमा आएको थियो । सभाहलको नियमित सरसफाई र व्यवस्थापनका लागि कर्मचारी समेत खटाईएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।