लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २० असार । दाङ तुलसीपुरका लोकेन्द्र बहादुर बस्नेतले बस चलाउन थालेको १९ वर्ष बित्यो । उनले दाङ देखी काठमाडौ रुटमा बस चलाउदै आएका थिए । उनका लागि विगतका वर्षहरु कहिल्यै फुर्सदिला भएनन् । कोरोनाले गर्दा उनलाई चार महिना यता फुर्सद दिएको छ । तर यो फुर्सद उनका लागी निकै पट्यार लाग्दो बनेको छ । कमाई गर्ने बाटो बन्द पछि परिवार कसरी पाल्ने भन्ने चिन्ता पनि थपिएको छ ।लोकेन्द्र जस्तै सार्वजनिक यातायात क्षेत्रका हजारौं मजदुर बेरोजगार बनेका छन् । चैत ११ गते देखि बन्दाबन्दी भएपछि सार्बजनिक यातायात ठप्प छ ।चार महिना देखी देशभरका यातायात मजदुर बेकाम भएर बसेका छन् । लामो समय सम्म बन्दाबन्दी हुदा उनीहरुको दैनिकी चलाउन समस्या भएको छ ।
यातायात मजदुरको अवस्था बुझ्न न त यातायात व्यवसायीले चासो दिएका छन्, न त सरकारले । यस्तो अवस्थामा पनि आफुहरुलाई तत्काल राहत नदिए छाक टार्नै समस्या पर्ने अवस्था रहेको तुलसीपुर १५ निवासी बस चालक राजेश गोतामेको भनाई छ । आफु जस्ता हजारौ यातायात मजदुर बेरोजगार भएर बसेको हुदा राज्यले केहि राहत दिने आशामा आफु बसेको उनले बताएका छन् । तुलसीपुर क्षेत्रमा मात्रै झण्डै दुई हजार यातायात मजदुरहरु छन् । उनिहरु सबैको अवस्था लगभग उस्तै छ । स्थानिय सरकारले यातायात मजदुरको समस्या सम्बोधन गर्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष केशब बहादुर भण्डारीले बताएका छन् । कोरोनाका कारण निम्तिएको परिस्थितिले अन्य क्षेत्रसँगै सार्बजनिक यातायात क्षेत्रका २ लाख ५० हजार भन्दा धेरै सवारी साधनमा कार्यरत हजारौ मजदुर समस्यामा छन् । उनिहरुकाबारे सरकारसँग छलफल भईरहेको नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमालको भनाई छ ।पछिल्लो केही दिन यता लकडाउन खुकुलो पारिए पनि कोरोना संक्रमण बढ्दै गएकाले सार्बजनिक यातायात तत्काल सञ्चालनमा आउने सम्भावना छैन ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।