२०८३ असार १३ गते शनिवार

टिकापुर घटना : सांसद रेशम चौधरीलाई जन्मकैद

दाङ, २२ फागुण । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला सुनाईएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिएका छन् ।लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले उनी बुधवार नै रिहा हुने भएका छन् ।मधेसी(थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा परि नेपाल प्रहरीका एसएसपी र एक नाबालक सहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी राजपाबाट उम्मेदवार बनेर वारेस मार्फत चुनाव जितेका चौधरीले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत सम्म पुगेका थिए । चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाली सामू आत्मसमर्पण गरेका थिए । तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए ।

सपथ पछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । चौधरीको विषयमा अघिल्नो मंगलवारबाट सुरु भएको बहस गत मंगलवार सकिए पछि बुधवार फैसला भएको हो । सांसद चौधरी सहित घटनामा हाल सम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । त्यस्तै उक्त घटनामा संलग्न भनिएका ३२ अभियुक्त अझै फरार रहेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया