तुलसीपुर, १३ असार । तुलसीपुर–३ सातवासस्थित तामाखानीमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको खानेपानी मुहान सम्बन्धी विवाद छलफल मार्फत समाधान भएको छ। दुवै पक्षबीच भएको सहमति अनुसार आगामी सोमबार तुलसीपुर उपमहानगरपालिका कार्यालयमा लिखित सहमति गर्ने निर्णय गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको नेतृत्वमा गएको टोलीले सनिबार विवादित क्षेत्रमा पुगेर स्थानीय बासिन्दा तथा सरोकारवालासँग छलफल गरेपछि लामो समयदेखि देखिएको विवाद टुंगिएको हो।
छलफलमा नगरप्रमुख खड्कासँगै अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दशरथ वली, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विक, तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम ढकाल र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। संस्थाले सहलगानी आयोजना अन्तर्गत तामाखानी स्थित मुहानलाई संरक्षण तथा थप व्यवस्थित गर्दै पूर्ण रूपमा उपयोगमा ल्याउने कार्य सुरु गरेपछि स्थानीयले विरोध जनाएका थिए। मुहान पूर्ण रूपमा संरक्षण गर्दा सिँचाइका लागि प्रयोग हुँदै आएको पानीमा असर पर्ने भन्दै स्थानीयले काममा अवरोध गरेका थिए।
विवाद समाधानका लागि भएको छलफलमा संस्थाले स्थानीयको सिँचाइमा असर नपर्ने गरी मुहान संरक्षण गर्ने, मुहानको पूर्वतर्फ निर्माण गरिएको आरसीसी संरचनाको अग्लो भाग हटाउने, खोलाको प्राकृतिक बहावलाई खुला राख्दै मुहान संरक्षण गर्ने तथा स्थानीयले खानेपानी आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको संस्थाले जनाएको छ। छलफलबाट भएको मौखिक सहमतिलाई आगामी सोमबार तुलसीपुर उपमहानगरपालिका कार्यालय समयमा दुवै पक्षबीच लिखित सहमति गर्ने निर्णय भएको जनाइएको छ।
स्थानीय तहको समन्वयमा भएको यो सहमति सँगै खानेपानी आयोजना अघि बढ्ने भएको छ । सो अवसरमा नगर प्रमुख खड्काले स्थानीय जनताले उठाएको माग जायज भएको भन्दै सिँचाइ आवश्यकतालाई समेत सम्बोधन गर्ने बताउनु भयो । उहाले सिचाईका निम्ति देखीएको समस्यालाई आगामी दिनमा सम्वोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।






