२०८३ कार्तिक २९ गते आइतवार

अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ यात्रु अलपत्र; करिब ७ हजार उडान प्रभावित

एजेन्सी २८, कात्तिक | अमेरिकाको हवाई यातायात प्रणालीमा अचानक प्राविधिक समस्या उत्पन्न भएपछि देशभरका सबै हवाई उडानमा अनिश्चितकालीन रोक लगाइएको छ। अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै देशव्यापी ‘ग्राउन्ड स्टप’ आदेश जारी गरेपछि हजारौँ यात्रु प्रभावित भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उडान सञ्चालनमा लगाइएको रोकका कारण करिब ७ हजार उडान ढिला भएका छन् भने कैयौँ उडान रद्द गरिएका छन्। न्युयोर्क, वासिङ्टन र क्यालिफोर्नियासहित विभिन्न प्रमुख सहरका विमानस्थलमा यात्रुहरूको ठूलो भीड लागेको छ। उडान अवरुद्ध भएपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेको सीएनएनले जनाएको छ।अमेरिकी यातायातमन्त्री सीन डफीका अनुसार देशका २२ वटै एयर ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा प्राविधिक समस्या देखिएको हो। समस्याको वास्तविक कारण पत्ता लगाउन र प्रणालीलाई पुनः सञ्चालनमा ल्याउन एफएएका प्राविधिक विशेषज्ञहरू परिचालन गरिएको उनले बताएका छन्।

शिकागोबाट सुरु भएको समस्या देशभर फैलियो

प्राप्त विवरणअनुसार सञ्चार प्रणालीमा गडबडी देखिएपछि सबैभन्दा पहिले शिकागोस्थित ओ’हेयर र मिडवे विमानस्थलबाट हुने उडान प्रभावित भएका थिए। सुरुमा सीमित क्षेत्रमा देखिएको समस्या क्रमशः अन्य एयर ट्राफिक कन्ट्रोल सेन्टरसम्म फैलिँदै गएपछि एफएएले देशभरका उडान रोक्ने निर्णय गरेको हो।एफएएले अर्को सूचना जारी नभएसम्म उडान प्रतिबन्ध कायम रहने जनाएको छ। यसले गर्दा हवाई सेवा कहिलेदेखि नियमित रूपमा सञ्चालन हुन्छ भन्नेबारे अन्योल सिर्जना भएको छ।

आकाशमा रहेका विमानलाई अवतरण अनुमति

उडान रोकसम्बन्धी आदेश जारी भए पनि त्यसअघि नै आकाशमा रहेका विमानलाई भने आफ्नो गन्तव्यमा अवतरण गर्न अनुमति दिइएको छ। तर विमानस्थलमा रहेका वा उडानको प्रतीक्षामा रहेका विमानलाई नयाँ उडान भर्न रोक लगाइएको छ।विदेशबाट अमेरिकातर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका हकमा भने प्रत्येक विमानको अवस्था र परिस्थितिको मूल्याङ्कन गरी छुट्टाछुट्टै निर्णय लिइने जनाइएको छ।यसैबीच, उडान रोक्ने आदेश जारी भएको केही समयपछि हवाई यातायातसम्बन्धी सूचना सार्वजनिक गर्ने एफएएको वेबसाइटसमेत अवरुद्ध भएको समाचारमा उल्लेख छ।

नयाँ एआई प्रणालीमाथि पनि अनुसन्धान

सञ्चार प्रणालीमा देखिएको खराबीको कारणबारे एफएएले अनुसन्धान सुरु गरेको छ। हालै जडान गरिएको कृत्रिम बौद्धिकता (एआई) प्रणालीसँग यो समस्या सम्बन्धित छ वा छैन भन्ने विषयमा समेत अधिकारीहरूले छानबिन गरिरहेका छन्।उक्त एआई प्रणालीले एयर ट्राफिक कन्ट्रोलरहरूलाई सम्भावित समस्या पहिचान गर्न तथा आवश्यकताअनुसार विमानको मार्ग परिवर्तन गर्न सुझाव दिने काम गर्छ।अमेरिकी सरकारले पछिल्लो समय हवाई यातायात नियन्त्रण प्रणालीको पुरानो प्रविधि विस्थापन गर्दै नयाँ पूर्वाधार निर्माण गरिरहेको छ। यसअन्तर्गत पुराना तारहरूलाई फाइबर अप्टिक केबलले प्रतिस्थापन गर्ने र रेडियो सञ्चार प्रणालीलाई आधुनिक बनाउने काम भइरहेको छ।

अमेरिकी इतिहासमा तेस्रो पटक देशव्यापी उडान अवरुद्ध

अमेरिकाको हवाई उड्डयन इतिहासमा देशभरका उडान एकैपटक रोकिएको यो तेस्रो घटना भएको बताइएको छ।यसअघि सन् २००१ सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी आक्रमणपछि सुरक्षाका कारण अमेरिकाभरका विमानलाई उडान रोक्न र आकाशमा रहेका विमानलाई अवतरण गराउन आदेश दिइएको थियो।त्यसैगरी, सन् २०२३ जनवरी ११ मा एफएएको पाइलटलाई उडान सुरक्षासम्बन्धी सूचना दिने मुख्य कम्प्युटर प्रणालीमा खराबी आएपछि करिब ९० मिनेटसम्म देशभरका हवाई उडान प्रभावित भएका थिए।

यसपटक भने एयर ट्राफिक कन्ट्रोलका २२ वटै केन्द्रको सञ्चार प्रणालीमा देखिएको समस्याले अमेरिकी हवाई यातायातलाई एकैसाथ प्रभावित पारेको छ। प्रणालीमा आएको खराबी पूर्ण रूपमा समाधान नभएसम्म उडान सेवा सामान्य अवस्थामा फर्किन नसक्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।