२०८३ कार्तिक २४ गते मङ्गलवार

ओखरको माग ह्वात्तै बढ्यो

दाङ,२४ कात्तिक । तिहार नजिकिएसँगै बजारमा भाइटीकामा प्रयोग हुने भाइमसलाको माग बढेको छ। दाजुभाइलाई टीका लगाउँदा उपहारका रूपमा दिने तथा पूजामा प्रयोग गरिने ओखर, काजु, बदाम, नरिवल, कटुसलगायत ड्राई फ्रुट्स तथा नट्सको खपत यस समयमा बढी हुने गरेको छ।भाइमसलाको बढ्दो मागसँगै नेपालमा यसको आयात पनि उल्लेख्य हुने गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मात्रै तिहारलाई लक्षित गरी विभिन्न प्रकारका ड्राई फ्रुट्स तथा नट्स आयात गर्दा अर्बौं रुपैयाँ बाहिरिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा काजु, नरिवल, ठूलो बदाम, कटुस, ओखर, चेस्टनट्स (जापानिज कटुस), पिस्ता, म्याकाडामिया नट्स, सुपारी, पाइन नट्स र खजुरलगायतका वस्तु आयात हुने गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तुलनामा यस वर्ष सुपारी, बदाम, ओखर, काजु र नरिवलको आयात रकम बढेको छ। यद्यपि पिस्ता, खजुर तथा केही साना नट्सको आयातमा भने कमी आएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विशेषगरी भाइटीकामा पूजा गर्दा फोड्ने परम्परा रहेको ओखरको आयात पछिल्ला पाँच वर्षमा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा ७२ करोड ८५ लाख ६२ हजार रुपैयाँबराबरको ओखर आयात भएकोमा आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा उक्त रकम बढेर तीन अर्ब ९१ करोड ६२ लाख ७४ हजार रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँबराबरको ओखर आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो। गत वर्षको पहिलो तीन महिनामा ५४ करोड २४ लाख ६६ हजार रुपैयाँको ओखर आयात भएको थियो। बजारमा हाल ओखरको थोक मूल्य प्रतिकिलोग्राम ५२० रुपैयाँ रहेको छ भने खुद्रा मूल्य प्रतिकिलोग्राम करिब ५६० रुपैयाँदेखि सुरु हुने गरेको छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८४ करोड ७७ लाख ७ हजार रुपैयाँबराबरको सुपारी आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ६ लाख ९५ हजार रुपैयाँको सुपारी आयात भएको थियो। यससँगै सुपारीको आयात रकममा यस वर्ष ४१ प्रतिशतको वृद्धि देखिएको छ।

तिहारमा भाइमसलाको प्रयोग र माग बढ्दै जाँदा ओखर, सुपारीलगायतका सामग्रीको आयातमा समेत वृद्धि भएको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।