दाङ,१९ कात्तिक । नेपालमा गहुँको मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ। गत वैशाखमा प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य अहिले बढेर ५० रुपैयाँ पुगेको हो। भारतमा गहुँको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको मैदा मिल सञ्चालकहरूले बताएका छन्। गहुँको मूल्य बढ्नुका साथै पर्याप्त आपूर्ति नहुँदा गहुँलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगहरू सञ्चालन गर्न कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ।
एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीका अनुसार अहिले मैदा मिलहरूसँग करिब एक महिनालाई पुग्ने गहुँको मौज्दात छ। त्यसैले तत्कालै गहुँको अभाव नदेखिए पनि अवस्था लामो समयसम्म यस्तै रहे उद्योगहरूलाई थप समस्या हुन सक्नेछ। उनका अनुसार भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँ बजारमा बिक्रीका लागि खुला नगरेसम्म मूल्य घट्ने सम्भावना कम छ।
नेपाल फ्लोर मिल एसोसिएसनका अनुसार भारत सरकारले २४ अगस्ट २०२६ देखि गहुँ आयातमा लगाएको कोटा हटाएकाले भारतबाट गहुँ ल्याउन भने समस्या छैन। तर, भारतमै गहुँको मूल्य बढेकाले आयात गर्दा नेपालमा पनि महँगो पर्ने गरेको छ।
नेपालमा नयाँ गहुँ भित्रिन आगामी चैतको मध्यसम्म कुर्नुपर्ने हुन्छ। त्यसैले अहिलेको मूल्यवृद्धि र आपूर्तिको समस्याले गहुँबाट बन्ने खाद्यवस्तुको मूल्यसमेत बढ्न सक्ने उद्योगीहरूले बताएका छन्। गहुँको अभावका कारण अहिले नेपालका फ्लोर मिलहरू आफ्नो कुल उत्पादन क्षमताको करिब ५० प्रतिशतमा मात्रै सञ्चालन भइरहेका छन्। यही अवस्था कायम रहे मैदा, पिठो तथा गहुँबाट बन्ने अन्य खाद्यवस्तुको मूल्य बढ्न सक्ने देखिएको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।