विराटनगर, १३ असोज। मोरङको रतुवामाईमा लागुऔषध तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले आठ राउन्ड गोली प्रहार गरी घटनास्थलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा सोमबार राति करिब ९:३० बजे घटना भएको हो। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेका थिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा चलाइएको गोली लागेर भारतको अररिया जिल्लास्थित कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र हाल कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी कुल आठ राउन्ड गोली चलाएको थियो। पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली तथा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेको समूह लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको आशंका छ। बरामद सामग्री, पक्राउ परेका व्यक्तिहरूको संलग्नता तथा घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।