तुलसीपुर, ८ साउन । राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले इलाका प्रशासन कार्यालय तुलसीपुरमा दैनिक सास्ती खेप्न बाध्य भएका छन् । कार्यालयमा दिउँसो पालो नपाईने भएपछि बिहानै देखि लाइनमा बसेर पनि दिनभर पालो नआउने र पटक–पटक कार्यालय धाउनु परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । पश्चिम दाङको पञ्चकुलेबाट राष्ट्रिय परिचयपत्र बनाउन आएका एक सेवाग्राहीले तीन दिनदेखि लगातार कार्यालय धाइरहे पनि अझै सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।
कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भए पनि सेवाग्राही भने बिहान ३ बजेदेखि नै लाइनमा बस्न बाध्य हुने गरेका छन । कतिपय सेवाग्राही बिहानैदेखि पालो कुर्दाकुर्दै दिन बित्ने तर काम भने नहुने अवस्था रहेको अर्का एक सेवाग्राहीको पनि गुनासो छ । यी गुनासा प्रतिनिधिमूलक मात्रै हुन । कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आएका धेरै नागरिकले यस्तै समस्या भोगिरहेको देखिन्छ । कार्यालयले सेवाग्राहीको चाप अत्यधिक भए पनि आवश्यक व्यवस्थापन र सेवा विस्तार नहुँदा आफुहरुले अनावश्यक दुःख पाउनु परेको उनीहरूको भनाइ छ ।
यता इलाका प्रशासन कार्यालय तुलसीपुरले भने भौतिक संरचना, सीमित जनशक्ति तथा सेवा प्रवाहका स्रोत–साधनको अभावका कारण अपेक्षित रूपमा सेवा दिन कठिनाइ भइरहेको जनाएको छ । कार्यालय प्रमुख पुष्पराज पौडेलले सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न आवश्यक पूर्वाधार र स्रोतको आवश्यकता रहेको बताउनुभयो ।
पछिल्लो समय बैंकिङ सेवा, सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र, सरकारी सेवा तथा अन्य विभिन्न कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य जस्तै बनेको छ ।तर नागरिकका लागि अत्यावश्यक बनेको यो सेवा सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारणले पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता झेलिरहेका छन । यसका लागी सम्बन्धित निकायले सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै सेवा प्रवाहलाई छिटो,छरिटो र सहज बनाउन आबश्यक देखिन्छ ।





