मोरङ, ८ साउन । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् । ३ साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठममाडौं जाने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेका थियो ।
स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उहालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।





