२०८३ असार ६ गते शनिवार

वडा कार्यालय र आशाका किरणको पहलमा सन्देशमूलक भिडियो प्रदर्शन

भालुवाङ ६ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ लाई सफा, स्वच्छ र प्लास्टिकमुक्त वडा बनाउने उद्देश्यसहित टोल–टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत वडा नं.३ को ६५ नं., बसन्तपुर, खुरूरीया, मसुरिया ठुलो गल्ली, प्रगतिनगर टोल र सिरिचौर मसुरियामा सरसफाइ सम्बन्धी जनचेतनामूलक भिडियो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
आशाका किरण संस्था र राप्ती गाउँपालिका वडा नम्बर ३ को लागत साझेदारीमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रोजेक्टर मार्फत सरसफाइ, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण तथा खुला स्थानमा फोहोर फाल्ने र जलाउने कार्यका असरबारे जनचेतनामूलक भिडियो प्रदर्शन तथा प्रस्तुतीकरण गरिएको थियो। अभियान मार्फत समुदायमा कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने, प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने तथा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको संस्थाका महासचिव लोकमणी भुसालले जानकारी दिनुभयो ।

६ वटा टोलमा गरि करिव १ हजार भन्दा बढी स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। अभियानका क्रममा सरसफाइका विषयमा संस्थाका सल्लाहकार माधव खनाल, प्रेस संयोजक ओमप्रकाश गुप्ता, शुभेच्छुक धुव्र बेल्वासे र संस्थाकि सचिव पवित्रा विश्वकर्माले प्रशिक्षण दिनु भएको थियो ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिवार
प्रतिक्रिया