तुलसीपुर, १४ भदौ । पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले रेडियोलाई व्यवसायिकरण गर्दै स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्ने बताउनु भएको छ । दाङको तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएमको नियमित बैठकलाई सम्बोधन गर्दै उहाँले रेडियोलाई टिकाउ र दिगो बनाउन विज्ञापन, जनचेतनामूलक कार्यक्रम तथा साझेदारी अभियानलाई पनि बढावा दिन आवश्यक रहेको बताउनुभयो ।
बैठकमा उहाँले सामुदायिक रेडियोको अस्तित्व जनताको आवाजलाई सशक्त बनाउनका लागि भएको उल्लेख गर्दै, स्थानीय सरोकारका विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । रेडियोका सल्लाहकार समेत रहनु भएका केसीले श्रोताले प्रत्यक्ष महसुस गर्ने खालका समाचार, कार्यक्रम तथा बहसहरूलाई प्रवर्द्धन गर्ने हो भने रेडियो आफैँमा श्रोतामैत्री हुने र आर्थिक रूपमा पनि सबल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो प्रकृति एफएम सञ्चालक समितिका अध्यक्ष नारायण खनालको अध्यक्षतामा बसेको बैठकले रेडियोको कार्यक्रम सामग्रीमा सुधार गर्दै समुदायसँग अझ सशक्त सम्बन्ध विस्तार गर्ने निर्णय गरेको छ । रेडियो सञ्चालक समितिका उपाध्यक्ष राम प्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा सल्लाहकार द्धोय बलदेव शर्मा र कृष्ण भुसालले भवन निर्माण, रेडियो सञ्चालन र व्यवस्थापनको पाटोमा जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव सञ्चालक समितिका सदस्य संगित बस्यालले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।