दाङ,२३ वैशाख । दाङमा चालु आर्थिक बर्ष २०८१/०८२ को नौ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ६७ जनाको मृत्यु भएको छ । चालु आर्थिक बर्षको साउनदेखि चैतमहिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ५७ सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५१ जना पुरुष, ११ जना महिला र पाँच जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । गतआर्थिक बर्ष २०८०/०८१ को सोही अवधिमा जिल्लामा एक सय ५८ वटा सवारी दुर्घटनामा ७६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक शाहीका अनुसार चालुआर्थिक बर्षको नौ महिनाको अवधिमा सवारी दुर्घटनामा तीन सय ७४ जना घाइते भएका छन् । चालकको लापरवाही, कमजोर सडकको अवस्था, क्षमताभन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा कुदाउने र भौगोलिक अवस्थाका कारण पनि जिल्लामा सवारी दुर्घटना हुने गरेको छ ।
सवारी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन बढी देखिएका छन् । चालु आर्थिक बर्षको नौ महिनाको अवधिमा भएका सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटना हुने गरेका छन् । जिल्लामा साउनदेखि चैत महिनासम्म भएका दुई सय ५७ वटा दुर्घटनामा मोटरसाइकल तथा स्कुटरको संख्या दुई सय २४ रहेको छ । त्यसैगरी जिप/कार ३८ वटा, अटो २२ वटा, बस १९ वटा, ट्याक्टर १८ वटा, ट्रक तथा ट्यांकर १२ वटा, टिप्पर १० वटा र माइक्रो दुई वटा दुर्घटनामा पर्दा ६३ करोड ८३ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । ट्राफिक प्रहरीले जिल्लामा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने आठ सय ४७ जना चालकलाई कारवाही गरेको छ । जसमा सवैभन्दा धेरै दुई पांग्रे सवारीासधन मोटरसाइकल चालकहरु रहेका छन् ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।