तुलसीपुर,२१ चैत्र । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीको घरदेखि पार्टी कार्यालय करिब १५ सय मिटरको दूरीमा पर्छ । त्यहाँ आज प्रदेशसभा क्षेत्रिय कार्य समिति क्षेत्र नं ३(१) को तेस्रो प्रदेशसभा क्षेत्रिय सम्मेलन थियो । तर भव्य कार्यक्रममा गेहेन्द्र गिरी जानुभएन । उहाँ घरमै हुनुहुन्थ्यो ।
स्वास्थ्य राम्रो पनि थियो । तर पनि कार्यक्रममा सरिक हुनुभएन । त्यति मात्र होइन नेकपा एमालेका नेता शंकर पोखरेललाई पराजित गरेर चर्चामा आएका संविधानसभा सदस्य बुद्धिराम भण्डारी, कृति बहादुर खडका, घनश्याम रेग्मी लगायतका पुराना पुस्ताका नेताहरु कोही पनि कार्यक्रममा देखिनु भएन ।
तर क्षेत्रिय सम्मेलनको नाम दिएको कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, पूर्व संसाद शंकर गिरी, जिल्ला पार्टी सभापति शंकर डाँगी, जगत खडका, केशव आचार्य लगायतका नेताहरुको भने सहभागिता रहेको थियो ।
के भन्छन् काँग्रेसका नेताहरु ?
लोक तन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला पार्टी बलियो हुन आवश्यक रहेको काँग्रेसका निष्ठावान् कार्यकर्ताहरू बताउँछन् । पार्टी भित्रको गुट, उपगुट, तिक्तता, मतभेद र चिसोपनाले पार्टीलाई सधै कम्जोर बनाउने उनीहरूले बताए ।
‘पार्टीका पूर्व जिल्ला सभापति देखि केन्द्रिय नेताद्वय दीपक गिरी, गेहेन्द्र गिरी, एउटै मञ्चमा नदेखिंदा खल्लो महसुस भयो । हामीले आज दुबै नेता एक ठाउँमा उभिएर भाषण ठोग्छन । हामी हरेक परस्थितीमा संगै छौ । पार्टीलाई बलियो बनाउने काममा तपाँइहरु लाग्नुस भन्नुहुन्छ होला भन्ने लागेको थियो । तर विडम्बना उहाँको वर्षौंदेखिको तुष कहिल्यै नमेटिने भयो । यो अझै झाँगिदै गइरहेको छ । तपाईले हेर्नुभयो होला । तुलसीपुर खानोपानी, राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचन, माइलीपानी खानेपानी यी सबै ठाउँमा दुबै प्यानल भिडेका छन् । कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गै भने जस्तै भएको छ ।’ काँग्रेस एक नेताले नाम नबताउने सर्तमा भन्नुभयो ।
संयोग हो या वास्तविकता ?
यता काँग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरीले कार्यक्रममा सहभागिताका लागि खबर पाए पनि आफ्नै कारणले नगएको बताउनुभयो । ‘म आज दिनभरी घरमै छु । घरमा रङरोगन गर्नु थियो । केही कामकाज पनि थियो त्यही भएर म गएन । तर अन्य साथीहरु घनश्याम भण्डारी, गेहेन्द्र वली, पवित्रा धिताल, शान्ता पाण्डे लगायतका साथीहरुलाई खबर नभएको पाए । कम्तिमा जिल्ला कार्य समितिमा निर्वाचित साथीहरुलाई खबर गर्नु पर्ने हो ।’ गिरीले भन्नुभयो ।
गेहेन्द्र गिरीको अधिकाँस टिम गएन भन्ने हल्ला छ नि के हो ? भन्ने प्रश्नमा उहाँले हास्दै भन्नुभयो ‘होइन कतिपय साथीहरु भाषण गर्न पाइन्न भनेर नगएका होलान् नत्र त गएकै छन् । सुरेन्द्र खडहरु जाँदै छम भन्दै थिए, मैले जानुस भने ।’
यता संविधानसभा सदस्य बुद्धिराम भण्डारीले आफूलाई खबर नगरेको बताउनुभयो । ‘म अहिले काठमाण्डौमा छु । म लगायतका धेरै नेताहरुलाई खबर भएको छैन । पत्र नपठाए पनि फोन त गर्न सकिन्थ्यो ? खबर भएको भए म समय मिलाएर कार्यक्रममा सहभागी हुने थिए । वास्ता गरेनन् । वास्ता नगरेपछि घरमा भए पनि म कार्यक्रम जाने थिएन् । हेर्दै जाउँ कहिलेसम्म यस्तैगरी पाटी चलाउँछन् ।’ संविधानसभा सदस्य तथा काँग्रेस नेता भण्डारीले भन्नुभयो ।
व्यक्ती स्वार्थका लागि केही नयाँ पुस्ताहरु गुटउपगुटमा रमाएको बताउँदै यसले पार्टीलाई झनै कम्जोर बनाउँदै लैजाने भण्डारीले बताउनुभयो । ‘यीनहरु गुट उपगुटमा रमाएका छन् । मान्नु पर्नेलाई नमान्ने । आफै जान्ने भएका छन् । हामी भनेका हात्तीका पाइला हौ । उनिहरु भनेका गाईका पाइला हुन् । गाईको पाइलामा हात्तीको पाइला पर्यो भने त्यसको केही अर्थ हुँदैन । सकभर गेहेन्द्र घरमै भएकाले उनलाई प्रमुख अतिथि बनाएर दिपकलाई यति टाढाबाट नबोलाएको भए पनि हुनेथियो ।’ भण्डारीले भन्नुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।