२०८३ मङ्सिर ९ गते बुधवार

 ‘ई–बिडिङ’ मार्फत पारदर्शिता र आर्थिक बचतमा तुलसीपुरको नयाँ किर्तिमान

तुलसीपुर,२१ फागुन । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक निर्माण योजनामा ई–बिडिङ प्रणाली लागू गर्दै विकास कार्यमा पारदर्शिता र आर्थिक बचतको नयाँ युग सुरु गरेको छ ।  यसले निर्माण क्षेत्रमा चलिरहेका बिचौलियाका गतिविधिहरूलाई रोक्न र सरकारी स्रोतको दुरुपयोग कम गर्न महत्त्वपूर्ण कदम उठाएको छ ।
अघिल्लो आर्थिक वर्षमा धेरै योजनाहरू कोटेसन र उपभोक्ता समितिको माध्यमबाट अघि बढाइएका थिए । जसका कारण आर्थिक चलखेल र ठेक्का प्रक्रियामा अस्थिरता आएको थियो । त्यसैलाई मध्यनजर गर्दै तुलसीपुर उपमहानगरपालिकाले अब सबै सार्वजनिक निर्माण योजनाहरूलाई ई–बिडिङ मार्फत कार्यान्वयनमा ल्याउन थालेको हो ।
चालु आर्थिक वर्ष २०८१ /०८२ मा १ लाख देखि ५ लाखसम्म खुल्ला सार्वजनिक सूचना मार्फत र ५ लाख देखि माथि सबै योजनाका कामहरू ईबिडिङ मार्फत गरिदै आएको छ ।

कोटेशन र उपभोक्ता मार्फत गरिने कतिपय  कामहरू आर्थिक चलखेल र सेटिङका आधारमा गरिएको गुनासाहरू आएपछि सार्वजनिक ठेक्का (ई–बिडिङ) मार्फत गर्न निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले जानकारी दिनुभयो । सडक, पुल, सामुदायिक भवन, नदी नियन्त्रण, तटबन्ध, घेराबार तथा पर्खाल, सिँचाइ कुलो, मठ मन्दिर, औषधि खरिद, कृषि बिउँ बिजन, विषादी, लगायत सबै सार्वजनिक निर्माण कार्यलाई अनिवार्य रुपमा सार्वजनिक सूचना (ईबिडिङ) गरि ठेक्का प्रक्रियाद्वारा गर्ने गरिएको छ ।

५१ वटा योजना ईबिडिङ मार्फत
तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा ५१ वटा योजना ईबिडिङ मार्फत कार्यान्वयनमा ल्याएको छ । योजना शाखा प्रमुख टेक बहादुर खड्काका अनुसार नगर स्तरीय योजना २२, शैक्षिक सुधारका ५, संघिय सशर्त अनुदान ५, प्रदेश सशर्त अनुदान ६, कृषिसम्बन्धी १०,  पशु सम्बन्धी १ र स्वास्थ्य सम्बन्धी २, समेत गरेर ५१ वटा योजना साउन देखि माघको महिनासम्म ईबिडिङमा गएका छन् । अघिल्लो आर्थिक वर्षको माघ महिनासम्म नौवटा मात्रै योजनाहरु कार्यान्वयनका लागि इबिडिङमा गएका थिए भने अधिकाँस योजना कोटेसन र उपभोक्ता समिति मार्फत कामहरू भएका थिए । 

 इ–बिडिङमा जाँदा झण्डै साढे ३ करोड बढि रकम बच्यो
५१ वटा योजनाहरू ईबिडिङमा जाँदा ३ करोड ४० लाख १२ हजार १४ रुपैयाँ बचत भएको छ  । ५ लाख भन्दा माथिका सबै योजनाहरु ईबिडिङमा मार्फत सार्वजनिक प्रतिस्पर्धा गराउन थालेपछी यति ठूलो रकम बचत भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा ५ लाख मुनिका ३/४ वटा काम मात्रै उपभोक्ता समिति मार्फत भएको योजना शाखा प्रमुख टेक बहादुर खड्काले बताउनुभयो ।

‘निकै राम्रो कामको सुरुवात भएको छ । उपभोक्ताले सम्झौताले गर्ने  तर काम ठेकदारले गर्ने । उपभोक्ता र ठेकदारका बिचमा कमिशनको मोलमोलाइ हुने । यसले आर्थिक त बचत हुने कुरै भएन निर्माण गरिएका भौतिक संरचना, गुणस्तरीय, टिकाउ र बलियो नहुने समस्या भयो । राज्यको पैसा नोक्सानी हुने तर काम प्रभावकारी नहुने ।’ योजना प्रमुख खड्काले भन्नुभयो । 

के भन्छन मेयर खड्का ?
सार्वजनिक सूचना मार्फत खुल्ला कोटेसन र इबिडिङ मार्फत काम गर्न थालेपछी करिब ७ करोड रुपैयाँ आर्थिक स्रोतको बचत गर्न सफल भएको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले बताउनुभो ।

‘तपाईले भनेको ३ करोड इबिडिङको मात्रै तथ्याङ्क हो । कोटेसनबाट पनि धेरै रकम बचेको छ ।  यसलाई जोड्ने हो भने ७ करोड पुग्छ । खेर गइरहेको यति ठूलो रकमलाई  बचाउनु के चानचुने कुरा हो ? खुल्ला कोटेशनमा गएपछि उपमहानगरका धेरैको खेलोमेलो सकियो । त्यतिकै मान्छे आन्दोलन गर्न सडकमा जान्छ ? त्यतिकै हाकिमका विरुद्धमा घेराबन्दी हुन्छ ?  खान पाइरहेको चिज खान नआएपछि के हुन्छ ? मान्छे छटपटाउँदैन ?’  मेयर खड्काले भन्नुभयो ।

गलत कामलाई रोक्न खोज्दा कतिपय कर्मचारी देखि वडा अध्यक्ष समेत हाकिम प्रति आक्रोशित भएर उपमहानगरलाई बदनाम गराउने काममा लागेको मेयर खड्काले बताउनुभो ।

संस्थागत फाइदा के भयो ?

इबिडिङले उपमहानगरलाई वित्तीय सुशासन कायम गर्न र आर्थिक बचतमा ठूलो सहयोग पुगेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताउनुभयो । ‘ठेकदार प्रकृतिका तीन वटा फर्महरू ल्याएर कोटेसन मार्फत कागजी प्रकृया मिलाएर खाने प्रवृतिको अन्त्य गरिएको छ । मान्छेले अनावश्यक चलखेल गर्ने, प्रश्न गर्ने र च्याँखे थाप्ने कामको अन्त्य भएको छ । नगरपालिकालाई २० देखि ३० प्रतिशतसम्म आर्थिक स्रोतको बचत भएको छ । अख्तियारमा उजुरी कम परेका छन् । नगरपालिकाको वित्तिय सुशासन कायम भएको छ ।’ अधिकृत डाँगीले भन्नुभयो ।

यद्यपी नीति, विधि थिति बसाउन खोज्दा निकै ठूला चुनौतिको सामाना गर्नु परिरहेको अधिकृत डाँगीको अनुभव छ । ‘खुल्ला प्रतिस्पर्धा र इबिडिङमा गएपछि वर्षौंदेखि अभ्यासमा रहेका पुराना मान्छेहको दबाव, प्रभाव, काममा असहयोग, अनावश्याक मिडियाबाजी, प्रत्यक्ष भन्न नसके पनि अप्रत्यक्षरुपमा काममा असहयोग गर्ने, मान्छेहरु उकास्ने, मोरलडाउन गर्ने, लगायतका गतिविधिको सामाना गर्नुपरेको छ ।’ डाँगीले भन्नुभयो । 

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।