तुलसीपुर, २१ माघ । दाङको घोराहीमा गत फागुण ३ गते विहीबार गोली प्रहार गरि महिला प्रहरी जवानको हत्या गरियो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई साँझको करिब साढे ७ बजे तिर गोली हानी हत्या गरियो । घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि गोली प्रहार गर्ने उनकै श्रीमान यम बहादुर झाँक्री थिए । प्रहरीको अनुसन्धानबाट नेपाल प्रहरीमा कार्यरत श्रीमान झाँक्रीले घरायसी विवादका कारण गोली प्रहार गरेको खुल्यो । यस्तै तुलसीपुर उपमहानगरपालिक ४ का लक्ष्मी चौधरीको पनि धारिलो हतियार प्रहार गरी हत्या गरियो । ४२ वर्षीय पेण्डवा चौधरीले ४५ वर्षकी श्रीमतिलाई २०८० साल माघ ७ गते धारिलो हतियार प्रहार गर्दा श्रीमतीको ज्यान गयो । यसैगरी तुलसीपुरमा गत जेठ महिनाको २५ गते शुक्रबार श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भयो । तुलसीपुर–६ सुकौराका डेरागरी बस्दै आएका ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीमाथि खुकुरी प्रहार गरे । श्रीमानको खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी टिकाको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सोही दिन नै मृत्यु भयो । यी तीन हत्याका घटना त एक उदाहरण मात्रै हुन् । यस्ता हत्याका घटना दाङमा विगत साढे पाँच वर्षको अवधिमा ८५ जनाको हत्या गरिएको छ । जिल्लाका विभिन्न स्थानमा आर्थिक वर्ष २०७६/०७७ देखि चालु वर्षको अहिलेसम्म अर्थात साढे पाँच वर्षमा भएका हत्या तथा अपराधमा घटनाबाट ८५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले दिएको तथ्याँक अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लामा हत्याका कारण ६ जनाको ज्यान गएको छ । यसैगरी वितेका आर्थिक वर्ष २०८०/०८१ मा १९ जना, आर्थिक वर्ष २०७९।०८० मा ९ जना, आर्थिक वर्ष २०७८/०७९ मा १७ जना, आर्थिक वर्ष २०७७/०७८ मा १९ जना र आर्थिक वर्ष २०७६/०७७ मा १५ जनाको हत्याका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङमा सुचना अधिकारी तथा प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार धारिलो हतियार प्रहार गरेर, घाँटी थिचेर, डोरीले बाँधेर वा कसेर, कुटपिट गरेर, धकेलेर, विष खुवाएर र अन्य प्रकृतिबाट हत्या गरिएकोे छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।