तुलसीपुर, १६–माघ । तुलसीपुर मेट्रो कलेजले प्रथम लुम्बिनी प्रदेशस्तरीय विष्णु केसी ‘मुटकोर्ट’ प्रतियोगिता सम्पन्न गरेको छ । दुई दिनसम्म विभिन्न चरणमा भएको प्रतियोगिताको मंगलबार समापन गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका तीन वटा कलेजका ८ समुहको कानुन विषय अध्ययन गरिरहेका (विएएलएलबी) विद्यार्थीहरु विच प्रतिष्पर्धा गराइएको थियो ।
फाइनल प्रतिष्पर्धामा जबरजस्ती करणीसम्बन्धी मुद्दामा विद्यार्थीहरूले अदालतको झल्को दिने गरी नक्कली अदालती बहस गरेका थिए । बहसका क्रममा वादी पक्षले एक नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै नाबालिगताका आधारमा दण्ड दिनुपर्ने तर्क राखेका थिए भने प्रतिवादी पक्षले सहमतिमा भएको घटना भएकाले सजाय दिन नहुने दाबी गरेका थिए ।
प्रतियोगिताको मूल्यांकन पूर्व न्यायपरिषदका सदस्य पदम वैदिक, उपप्राध्यापक अधिपक्ता अनुज चन्द र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले गर्नु भएको थियो । उनीहरूले विद्यार्थीहरूको कानुनी ज्ञान, तर्कशक्ति, र प्रस्तुतीकरण शैलीको प्रशंसा गर्दै कितावी ज्ञानले मात्रै नपुग्ने भन्दै व्यवहारिक रुपमा निरन्तर अभ्यास गर्न सुझाव दिएका थिए ।
कानुन विषय पढिरहेको विद्यार्थीलाई व्यवहारिक रुपमा बहस गर्ने क्षमताको विकास गर्र्न उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कलेज प्रमुख बसन्त आचार्यले बताउनुभयो । कार्यक्रममा मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, वर्तमान अध्यक्ष बिनिल केसी लगायतले यस्ता प्रतियोगिताले विद्यार्थीको अनुसन्धान, विश्लेषण, र वकालत गर्ने सीप अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक बिजय केसीले बताउनुभयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।