तुलसीपुर, १३ माघ । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले शाखाका प्रमुखहरूले जनताको काम नगरेको गुनासो गर्नुभएको छ । पालिका अन्तर्गत रहेका सम्बन्धित शाखालाई जनताको काम गर्न अधिकार प्रत्यायोजन गरेपनि उनीहरूले काम नगरेको डाँगीले गुनासो गर्नुभयो । जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम प्रसाद न्यौपानेका अनुसार तुलसीपुर उपमहानगरमा २९ वटा शाखा छन् ।
‘‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (५) बमोजिम शाखासंग सम्बन्धित विषयमा तोक आदेश गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । तर कर्मचारीले कामै गर्दैनन् । बिहान आएदेखि मेराे हात खाली छैन । सबै कुरा आफैले गर्नुपर्ने हुन्छ । शाखाबाटै सम्पन्न हुने काम म कहाँ पठाउने गरेका छन् । म नभए त जनताले त दु:ख पाउँछन् । यसरी कसरी काम गर्न सकिन्छ ?’’ प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो ।

२०८१ साउन १३ गते कर्मचारीलाई अधिकार प्रत्यायोजन गरिएको पत्र

२०८१ माघ १३ गने दोस्रोपटक कर्मचारीलाई अधिकार प्रत्यायोजन गरिएको पत्र
सम्बन्धित शाखालाई सम्बन्धित विषयमा तोक आदेश गर्न ६ महिना अघि अर्थात २०८१ साउन १३ गते अधिकार प्रत्यायोजनको पत्र दिएपनि शाखा प्रमुखहरूले काम नगरेपछि पुनः आज आइतबार अर्को पत्र पठाइएको छ । शाखा प्रमुखलाई पठाइएको पत्रमा भनिएको छ, ‘‘उपर्युक्त विषयमा यस अघि नै च.न.१२४ मिति२०८१/०४/१३ को पत्रबाट आफ्नो शाखासंग सम्बन्धित विषयमा तोक आदेश गर्ने अधिकार अर्को व्यवस्था नभएसम्मको लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा (५) बमोजिम प्रत्यायोजन गरिएको व्यहोरा विवितै छ । सो अभ्यास गर्नुभई सेवा प्रवाहलाई सरल र छिटो छरितो बनाउनु हुन निर्देश गरिएको छ ।’’
काम नगर्ने कर्मचारीलाई कारबाही गर्न सकिदैन ? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो ‘‘ब्याक बाइटीङ गर्छन् । काम गर्दैन्न । केही भन्ने हो भने सङ्गठनका नाममा हातमा कालोपट्टी बाँधेर आन्दोलन गर्छन् ।’’
कामलाई छिटो छरितो बनाउनका लागि हाजिर लगाएर घर जाने कर्मचारीलाई तह लगाउन प्रत्येक शाखामा इन्टरकम टेलिफोन जडान गरेपनि त्यो पनि कतिपय शाखाले बिगारेर राखेको डाँगीले बताउनुभयो । यता विभिन्न शाखाका प्रमुखहरूलाई यसका विषयमा बुझ्न खोज्दा कतिपयले कुरा गर्न चाहनुभएन भने कतिपयले फोन उठाउनुभएन ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।