तुलसीपुर, १८ पुष । कुनै समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको कालाखोला विद्यालय नजिकै ठुलै मेला लाग्ने गर्दथ्यो । त्यो मेला तुलसीपुर क्षेत्रकै पहिचानको रुपमा रहेको मेला थियो । ऐतिहासिकरूपमा अहिलेको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मानपुरमा कृष्णाष्टमीको समयमा, त्यस्तै वडा नम्बर १८ मनिकापुरमा शिवाकोटी मेला लाग्ने गर्दथ्यो । मानपुर र मनिकापुरमा लाग्ने मेला इतिहास भएपनि भोटे मेलाको अस्तित्व भने अझै रहेको देखिन्छ । चार वर्ष पहिले मात्रै कालाखोलामा शिवरात्रीको अवसरमा भोटे मेला आयोजना गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका नवदुर्गा सामुदायिक वन क्षेत्रमा रहेको गुम्बामा तमु ल्होसार पर्वका अवसरमा आयोजना गरिएको मेलामा भने तुलसीपुरमा आयोजना गरिने सबै खाले मेला महोत्सव बिर्साउने भीड लागेको थियो । तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् इकाईले तमु ल्होसार पर्वका अवसरमा विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् दाङका सचिव टेकबहादुर गुरुङले यस क्षेत्रमा कार्यक्रम गर्दै आएको २१ वर्ष पूरा गरेको बताउनुभयो । उहाँले ल्होसार पर्व नाचिने रोधी,घाटु नाँचले पारिवारीक सुख दुःख साट्ने,आफैले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्धनमा जोड दिने र देश विकास, शान्ति र समृद्धीका कुरा समेटिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले पालिकाको सबैभन्दा बढी गुरुङ समुदायको बसोबास वडा नम्बर ३मा रहेको र यो पर्व यस समुदायकै पहिचान संस्कृति झल्काउने अवसरको पर्वका रुपमा रहेको बताउनुभयो । उहाँले यस पर्वलाई निरन्तरता दिनका लागि वडाका तर्फबाट सहयोग गर्ने बताउनुभयो । वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकालले यस क्षेत्रको कला, संस्कृति पहिचान झल्काउने अवसरका रुपमा यस मेला पर्वलाई लिनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तमु ल्होसार पर्वलाई तुलसीपुर उपमहानगरपालिकाले विशेष महत्वका रुपमा विगतदेखि नै प्रचार, प्रसार र प्रबर्द्धन गर्दै आएको बताउनुभयो । नगरप्रमुख खड्काले ल्होसार पर्वका रुपमा आयोजना गरिने मेला महोत्सवले गुरुङ समुदायको कला संस्कृतिको जर्गेना,प्रचार प्रसारका साथै महोत्सवमा समुदायको खाना परिकारलाई बजारीकरण गर्न सके आयस्रोतको राम्रो माध्यम बन्ने बताउनुभयो । उहाँले पालिकाभित्र रहेका जातजातिका कला,संस्कृतिको जर्गेना गर्नका लागि कार्यपालिकाले ललितकला,संस्कृति साहित्य विकासका लागि ऐन ल्याउन थालिएको बताउनुभयो । उहाँले ऐनका विषयमा सरोकारवालाबीच छलफल सुरु गरिएको समेत बताउनुभयो ।
२०७८ सालको जनगणनाअनुसार तुलसीपुर उपमहानगरपालिका भित्र गुरुङ जातिको जनसंख्या आठ सय ३५ रहेको छ । यसैबीच तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् इकाई समिति वडा नम्बर ३ले सोमबार विशेष कार्यक्रम आयोजना गरेको छ । इकाई अध्यक्ष मञ्जु गुरुङको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता र वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विश्वकर्मा तथा वडा नम्बर ९का वडाध्यक्ष घनश्याम ढकालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सल्लाहकार सुरेश गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।