२०८३ कार्तिक ११ गते बुधवार

एक लाख ३५ हजार बढी योगदानकर्तालाई सामाजिक सुरक्षा कोष भुक्तानी गरियो

काठमाण्डौ, २३ चैत । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ । कोषले हिजोसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ रुपैयाँ भुक्तानी गरेको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा १३ करोड २८ लाख एक सय ६५ रुपैयाँ भुक्तानी गरेको छ । कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । कोषमा अहिलेसम्म ५२ अर्ब ६३ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार सात सय ९९ श्रमिक सूचीकृत भएका छन् ।

सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ । हिजोसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३, अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।