बुटवल, २१ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको हो ।
लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विश्वव्यापी प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबिचको जनस्तरको सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउन अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न लागिएको बताइएको छ । मङ्गलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सवसहित अन्तर्राष्ट्रिय शान्ति म्याराथन, ध्यान दिवस र शान्ति कन्सर्ट गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रम अनुसार चैत २३ गते अन्तर्राष्ट्रिय ध्यान, संवाद कार्यक्रम र २४ गते अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिनेछ ।
प्रतियोगिताको पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ४२ किलोमिटरभन्दा बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुनेछ । पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राका लागि ३ किलोमिटर वाकाथन पनि हुने जनाइएको छ । प्रतियोगितामा विधागत रूपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।