२०८३ कार्तिक १२ गते बिहिवार

हतकडीसहित भागेका थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर प्रहरीको मृत्यु

दार्चुला, २८ फागुन ।  दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते हुनुभएको थियो । प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर मुद्दा फाँटमा सोधपुछका क्रममा भागेका थिए । हतकडीसहित भागेका उनलाई समात्न खोज्दा प्रहरी जवान चौधरी भीरबाट लड्नुभएको थियो । थुनुवा प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नदीमा पौडी खेल्दै भारततिर पुगेका थिए ।

उनलाई भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । हिरासतमा रहेका उमेशसिंह कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका थिए । उनलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । उनले श्रीमती धनिशालाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगा बगरबाट प्रहरीको टोली घरमा पुगेको थियो । घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि उमेशसिंहले चक्कु प्रहार गरी घाइते बनाएका थिए । पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो ।।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।