काठमाण्डौ, २६ फागुन । सुनसरीको इटहरी उप–महानगरपालिका १२ खनार चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतकहरु नाताले काका भतिजा रहेको खुलेको छ ।
विराटनगरबाट इटहरीतर्फ गुडिरहेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।