तुलसीपुर २३ फागुन । नेपाली सेना स्थापनाको २६१ औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो युनिटी जर्नलको पाँचौँ संस्करण प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले विमोचन गर्नु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित रही सञ्चालन गरिएको उक्त प्रतियोगिताका उत्कृष्ट २७ वटा लेख रचनाहरुलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरु सन्नीम लामा, सुदिप अधिकारी र मनिष जंग पुलामीलाई प्रधान सेनापति महारथी शर्माले जंगी अड्डामा आयोजित विमोचन समारोहमा क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मुल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरुका साथै लेखकहरुलाई कदरपत्र प्रदान गर्नु भएको थियो ।






