२०८३ कार्तिक ११ गते बुधवार

पौराणिक मेला मार्फत खेलकुदको विकास र लोक संस्कृतिको संरक्षण गरिदै

सल्यान,१२ असोज । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ को दानबाङमा आज देखि पौराणिक मेला लागेको छ । स्थानीय मौलिक लोक संस्कृतिको जर्गेना र खेलकुदको विकासका लागि पौराणिक दानबाङ मेला लगाइएको हो । कपुरकोट गाउँपालिका भित्र लाग्ने पौराणिक मेला मध्य दानबाङ मेला एक प्रमुख मेला हो । यो मेला तीज पछिको पहिलो पूर्णिमाको दिनमा लाग्ने गर्दछ । बर्खा भरी खेतबारीमा काम गरेको थकान मेटाउने र इष्टमित्रहरू भेट भई सुखदुःख साटासाट गराउने माध्यमको रुपमा परापूर्व कालदेखि मेला लाग्दै आएको स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ ।

पौराणिक दानबाङ मेलाको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिका भित्र सञ्चालन हुने मेलाले स्थानीय लोक संस्कृतिको संरक्षण र खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रिय सदस्य समेत रहनु भएका पुनले मेलाबाट स्थानीय स्तरमा उत्पादन भएका घरेलु उत्पादनलाई बिक्री वितरणका लागि सहज बनाएको बताउनु भयो ।यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पौराणिक मेलाले समाजमा रहेका विभिन्न विकृतिका विरुद्ध सचेतना फैलाउने काम गरेको बताउनु भयो ।

गाउँपालिकाको १३ औं गाउँसभाबाट पारित कपुरकोट जागरण वर्ष २०८० लाई सफल बनाउन पौराणिक मेला कोसेढुङ्गा साबित भएको भण्डारीको भनाई छ । उहाँले लोक संस्कृतिको संरक्षण, खेलकुदको विकाससँगै नयाँ प्रतिभाको उदयका लागि मेलाले सही बाटो देखाउने गरेको बताउनु भयो । दानबाङ टोल विकास संस्थाका अध्यक्ष शंकर घर्तीको अध्यक्षता तथा वडा नम्बर ४ का सचिव हिरामणि घर्तीको स्वागत मन्तव्यबाट मा भएको मेलामा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बूढा, वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप खड्का, कपुरकोट बहुमुखी क्याम्पसका प्रमुख रूपलाल एरी, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसी. पत्रकार सन्तोष घर्ती लगायतकाले आफ्नो भनाई राख्नु भएको थियो ।

भोलि सम्म सञ्चालन हुने मेलामा खुल्ला भलिबल प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता राखिएको छ । भलिबलमा प्रथम हुनेले ३० हजार, द्धितिय हुने २२ हजार,तृतिय हुने १७ हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने छन् भने एकल नृत्यमा प्रथम हुनेले १५ सय, द्वितीय हुनेले १ हजार र तृतीय हुनेले ५ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।