काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकाले दरवन्दी अनुसारको हाकीम पाएको छ । प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाए संगै तुलसीपुरले दरवन्दी अनुसारको हाकीम पाएको हो । चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।
जस अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ । उपमहानगरपालिकामा सहसचिवको दरवन्दी भए पनि नेताहरको पहुँचका कारण उनिहरु खटाएको ठाउँमा जाँदैन थिए ।
जसका कारण उपसचिवका भरमा काम चल्ने गरेको थियो । यसपटक भने नयाँ सरकार गठनसंगै उपसचिव केशव पार्धेलाई अनेत्र सरुवा गरेर उहाँको ठाउँमा सहसचिव पौडेललाई पठाएको हो । तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पार्धे गएको चैत्रमा पालिकामा हाजिर हुनुभएको थियो ।
त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ । यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा दीपक ज्ञवालीलाई पठाएको ट भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञान हरि घिमिरेलाई पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।





