तुलसीपुर, ८ चैत । दाङको तुलसीपुरस्थित कारागार कार्यालयको अनुगमन गरिएको छ । इन्सेक दाङका जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, नागरिक समाज दाङका पूर्व संयोजक टिकराम रेग्मी, पत्रकार लगायतको टोलीले कारागारको स्थलगत अनुगमन गर्दै त्यहाँको भौतिक अवस्था र कैदीबन्दीहरूको जीवनयापनबारे जानकारी लिएको हो । अनुगमनका क्रममा कारागारमा हाल ४१२ जना कैदीबन्दी रहेको कारागारका जेलर गिरबहादुर सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ५८ जना महिला रहेका छन् भने १ बालक र ३ बालिका गरी ४ जना आश्रित बालबालिका रहेका छन्।
कारागारको कुल क्षमता ४६७ जना रहेको छ । साथै, विभिन्न घटनामा संलग्न भई कैद सजाय भोगिरहेका व्यक्तिमध्ये ८ जना विदेशी कैदीसमेत रहेका छन् । कारागारमा ३ वटा ब्लक रहेका छन् भने शौचालयको सुविधा सन्तोषजनक रहेको जनाइएको छ । कैदीबन्दीलाई दैनिक खानाका लागि प्रति व्यक्ति ८० रुपैयाँ नगद र ७ सय ग्राम चामल उपलब्ध गराइने गरिएको तर उक्त रकम र रासन पर्याप्त नभएको भन्दै कैदीबन्दीहरूले गुनासो गरेका छन् । कारागारभित्र फोनको सुविधा उपलब्ध रहेको छ भने भेटघाट हप्तामा ३ दिन खुला गरिने गरिएको छ ।
साथै, कैदीबन्दीलाई आत्मनिर्भर बनाउन मुडा, गलैचा, टोपी बुन्ने लगायतका हस्तकलाका कामसमेत सञ्चालनमा छन् । खानेपानीको सुविधा बोर्डिङ प्रणालीमार्फत उपलब्ध गराइएको छ । स्वास्थ्य अवस्थातर्फ हेर्दा १८ जना महिला र ६० जना पुरुष दीर्घरोगी रहेका छन् । कारागारमा एउटा सवारी साधनसमेत रहेको जनाइएको छ । बैदीबन्दीहरुको मानवअधिकार सुनिश्चित गर्न अनुगमन गरिएको बताइएको छ ।
अनुगमन टोलीले कैदीबन्दीहरूको मानवअधिकार संरक्षण, सम्मानजनक व्यवहार र आधारभूत आवश्यकताहरूको सुनिश्चितता गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएको छ । साथै, कारागार व्यवस्थापनलाई सुधार गर्दै कैदीबन्दीको जीवनस्तर उकास्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिइएको छ ।।




