दाङ, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा घुस लिएर उत्तीर्ण गराउने प्रकरणमा बाँकेका कर्मचारी र बिचौलियामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगञ्ज मा नक्कली लाइसेन्स वितरण गरी मासिक ३ करोड रुपैयाँभन्दा बढी असुली हुने गरेको उजुरीपछि टंगाल र बुटवलस्थित आयोगको संयुक्त टोलीले छापा मारेको थियो।
यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार, रमेशबहादुर बुढाथोकी, निमित्त प्रमुख दिनेश सिंह ठाकुर, रविन्द्र के.सी., अधिकृतहरू शक्ति ठाकुर, प्रेमप्रसाद उपाध्याय, मधुकर जंग शाह, नरभुपाल पौडेल, पूर्णमान वली, सतिष जंग शाह, कृष्णबहादुर बिक, काशीराम खत्री, बालकृष्ण चौधरी, नायब सुब्बा चित्रबहादुर महतारा, टोपबहादुर बयक, गोपाल शर्मा, मुकुन्दराज के.सी, मेकानिकल सुपरभाइजर पुष्करराज शर्मा, सुशीलकुमार शर्मा, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, शर्मिला थापा, कार्यालय सहयोगी जय नारायण भण्डारी तथा ट्राफिक प्रहरी पुस्करराज पन्त, नन्दकुमार पोखरेल, प्रविण आचार्य र दमन विक्रम सेनको नाम उल्लेख छ।
यस्तै गैर–राष्ट्रसेवक तर्फ न्यू मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी, न्यू स्वर्गद्धारी ड्राइभिङ सेन्टरका चिरञ्जिवी पोखरेल, रेसुङ्गा मोटर ड्राइभिङ प्रशिक्षण केन्द्रका माधव पोखरेल, शुभ स्वस्तिक ड्राइभिङ स्कुल प्रा.लि.का प्रमोदकुमार देवकोटा, राजकुमार ड्राइभिङ सेन्टरकी सीता श्रेष्ठ, मोतिकला भण्डारी र कृष्णप्रसाद सुवेदीसमेत संलग्न रहेको अख्तियारको दाबी छ। उनीहरूले लिखित तथा प्रयोगात्मक परीक्षामा ‘सेटिङ’ मिलाई परीक्षार्थीको नाम, Applicant ID र विवरण आदानप्रदान गरी अवैध रूपमा लाइसेन्स वितरण गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।




