काठमाडौं । बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् । २१ वर्षे ठिटोले १ अर्बको सुन जोखिम मोलेर ल्याउन नसक्ने र जुनसुकै बेलामा पक्राउ परेर जफत हुन सक्ने जोखिम उठाएर यति धेरै सुन ल्याइनुको अर्थ यसमा ठूलो गिरोह हुनुपर्ने आशंका गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ तीन जना पक्राउ परेसँगै पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ र अर्का एक जना पनि काठमाडौंबाट पक्राउ गरिएपछि पक्राउ पर्नेको संख्या १० पुगेको हो । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी अवैध रूपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका लागि निलम्बनमा परेका छन् ।
भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेकसु’को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
३० असारमा हङकङकबाट काठमाडौं ल्याइएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । ‘रेडी ट्रेड’सँग ‘ट्रान्स ग्लोबल सर्भिस’को कनेक्सन देखिएपछि सञ्चालकलाई पक्राउ गरिएको हो । चिनियाँ, नेपाली र भारतीय सम्मिलित टोलीले ल्याएको १ सय किलोभन्दा सुन राजस्व अनुसन्धान विभागले बरामद गरेसँगै पक्राउ परेकालाई छानबिन गर्न १० दिनको म्याद थप गरिसकेको छ ।
यो सुन प्रकरणसँगै नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट भइरहेको थप पुष्टि भएको छ । अहिलेसम्म भएका सुन तस्करीको ट्रान्जिट नेपाल भए पनि त्यसको बजार भने भारत रहेको यसअघिका तस्करीले पनि देखाएको छ । सुन तस्करी एउटा संगठित अपराधका रूपमा मौलाएको बुधबार बरामद सुनको परिणामले पनि पुष्टि हुन्छ । चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करले दक्षिण छिमेकी भारत पु¥याइरहेको विभिन्न अध्ययनले देखाएको छ । विभिन्न तीन तहमा सक्रिय तस्करले चीनबाट सुन नेपाल पठाउने, काठमाडौंमा भण्डारण गर्ने, काठमाडौंबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेको बताइन्छ ।
नेपाललाई सुन तस्करी बनाइरहँदा प्रहरी चुप लागेर नबसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्सेनी किलोका किलो सुन पक्राउ गरिँदै आएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०–७१ देखि २०७९–८० सम्म तस्करी गरेर ल्याइएको सुनमध्ये ८ सय १ किलो सुन बरामद भएको छ । यसमध्ये सबैभन्दा बढी २०७४–७५ मा २ सय किलो र २०७१–७२ मा १ सय ७८ किलो सुन बरामद भएको तथ्यांकले देखाउँछ । र, तस्करीमा संलग्न ७ सय ६ जना पक्राउ परेका छन् । एकैपटक १ सय किलो बरामद भएको भने बुधबारको घटना नै पहिलो हो ।
२०७२ भूकम्पअघि नेपाल–चीनको खासा बोर्डरबाट स्थल मार्ग हुँदै सुन तस्करी हुन्थ्यो । अहिले खासा नाका बन्द भएपछि सुनको तस्करी त्रिभुवन विमानस्थलबाटै हुने गरेको छ । नेपालमा सुनको तस्करी तीन तहको घेरामा हुने गरेको पाइएको छ । पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्ने गरेको प्रहरीको भनाइ छ । तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्ने गरेको बताइएको छ । काठमाडौंमा स्टोर भएको सुन स्थल मार्ग हुँदै भारतीय कारोबारीसम्म पु¥याउने जिम्मा उनीहरूकै रहेको बुझाइ पनि छ ।
तस्करीको अनुसन्धानमा खटिएका अधिकृत र उनीहरूले तयार पारेको प्रतिवेदनले सुन तस्करीमै संलग्न व्यक्ति नै वैदेशिक मुद्रा र हुन्डी कारोबारमा संलग्न हुने गरेको पनि पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०६९–७० मा ६९ किलो फेला परेको थियो । २०७०–७१ मा १ सय ४१ किलो बरामद भएको थियो । २०७१–७२ मा १ सय ७८ किलो बरामद भएको थियो । त्यतिबेला अधिकांश सुन स्थल मार्गबाट लुकाइछिपाइ उपत्यका भिœयाउने क्रममा बरामद भएका हुन् ।
२०६९ देखि आर्थिक वर्ष २०७१–७२ सम्म सबैभन्दा धेरै अवैध सुन उपत्यकामै बरामद भएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा देशभरि २ सय ६५ किलो अवैध सुन फेला परेकामा उपत्यकामै १ सय ४७ किलो बरामद भएको थियो ।
आर्थिक वर्ष २०७१–७२ मा कुल १ सय ७८ किलो सुन बरामदसँगै ८६ जना पक्राउ परेका थिए । २०७२–७३ मा कुल ७२ किलो पक्राउ परेको थियो भने ९८ जना पक्राउ परेका थिए । २०७३–७४ मा ८५ जनालाई पक्राउ गरी ६४ किलो सुन प्रहरीले बरामद गरेको थियो । २०७४–७५ मा कुल २ सय किलो सुन बरामद गरिएको थियो भने ५८ जना पक्राउ परेका थिए । यसैगरी, २०७५–७६ मा ५१ किलो सुन बरामद गर्दै प्रहरीले सवैभन्दा बढी अर्थात् १ सय १५ जना पक्रेको थियो ।
नेपाल प्रहरीको तथ्यांकअनुसार २०७६–७७ मा ३० किलो सुनसँगै ३० जना पक्राउ गरेको थियो । त्यस्तै, २०७७–७८ मा ३२ किलो सुन र ५५ जना तस्कर समातिएका थिए । २०७८–७९ मा भने २३ किलो सुनसँगै ८८ जना पक्राउ परेका थिए । २०७९–८० मा १० किलो सुन र ९१ जना पक्राउ परेको प्रहरीको तथ्यांक रहेको छ । कोरोना र भूकम्पभन्दा अगाडिसम्म तस्करले खासाबाट सामान ल्याउने कन्टेनर, जिप र साना व्यक्तिगत सवारीमा फल्स बटम बनाएर सुन भिœयाउने गरेका थिए ।
यसरी उपत्यका भित्र्याउने सुन पटकपटक प्रहरीको फन्दामा पर्न थालेपछि व्यापारीले कम्मरमा बाँधेर, जुत्ताको सोलमा राखेर र मोटरसाइकलको डिकीमा लुकाएर तस्करी गर्न थालेका थिए । स्थल मार्गमा कडाइ भएपछि कारोबारी हवाई मार्गतिर लागे । कारोबारीले दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौं आउने हवाई रुट तस्करीमा उपयोग गर्न थालेका थिए ।