२०८३ भाद्र २८ गते आइतवार

१४ लाख बजेटमा कल्भर्ट निर्माण, उपभोक्ता समितिकै मान्छे बेखबर

चेतन वली । तुलसीपुर, ४ श्रावन । दाङको दंगीशरण गाउँपालिका १ बाँकीमा १४ लाख रुपैयाँ बजेटमा एउटा कल्भर्ट निर्माण गरिएको छ । दंगीशरण गाउँपालिकाले आर्थीक वर्ष २०७९/०८० मा विनियोजन गरेको १४ लाख रकमबाट उपभोक्ता समिति मार्फत उक्त कल्भर्ट निर्माण गरिएको हो । कल्भर्टको आकार सानो बनाइएको र जग पनि बलियो नबनाएको भन्दै स्थानियले निर्माण हुने क्रममै विरोध जनाएका थिए भने वडा कार्यालयमा निवेदन समेत दिएका थिए । त्यसपछि उपभोक्ता समितिले कल्भर्टको आकार पुनः केही इन्च बढाएको थियो । अहिले कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । कनरिया खोलामा कल्भर्ट निर्माण भएसँगै आवातजावतमा सहज हुने अपेक्षा लिइएको छ । तर, कल्भर्ट सम्म पुग्ने आसपासको बाटोको अवस्था भने विजोग रहेको छ । बर्षायाममा पानी पर्ने भएकाले अहिले पनि उक्त सडकबाट सवारीसाधन आवतजावतमा अबरुद्ध भएको छ । कल्भर्ट आसपासमा ग्राभल गर्नुपर्ने देखीएपनि त्यसो नगर्दा पानी परेको बेलामा मोटरसाइकल समेत वारपार गर्न नसक्ने अवस्था छ ।

यता उपभोक्ता समितिकी सचिव चन्द्रा खड्काले आफुलाई कल्भर्ट निर्माणका लागी आएको बजेट कति हो भन्ने पनि थाहा नभएको बताउनुभएको छ । आफुलाई नाम मात्रैको सचिव बनाइएको भन्दै उहाले यस विषयमा समितिका अन्य पदाधिकारीहरुले कुनै जानकारी नदिएको बताउनुभयो । ‘बजेट कती हो, खर्च कति भयो, मलाई कसैले थाहा दिएका छैनन, सुरुमा समितिका अध्यक्षले समितिको सचिवमा नाम राख्दिन्छु भन्नुभयो, आफु भन्दा ठुलाले भनेको कुरालाई मैले इन्कार गर्न नसकेर हुन्छ राखिदिनुस् भने, अनि एकपटक मलाई हस्ताक्षर गर्न लगाउनुभयो, त्यसपछि मलाई केहीपनि थाहा छैन, उहाले भन्नुभयो ।’ समितिका अन्य पदाधीकारीहरुले आफुलाई कुनैपनि जानकारी नदिएर मनोमानी तरिकाले काम गरेको उहाको भनाई छ ।

उक्त कल्भर्ट निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको भएपनि समिति र ठेकेदारले सहकार्य गरेर निर्माणको काम गरेका थिए । कल्भर्ट निर्माणको लागी छुट्याएको १४ लाख रुपैया बजेट मध्य हार्डवयरको सामाग्रीमा मात्रै ५ लाख ५९ हजार रुपैयाँ खर्च भएको निर्माण व्यवसायी टेकेन्द्र खत्रीले जानकारी दिनुभएको छ । यस्तै जेसिबी खर्च १ लाख ४४ हजार, क्रेसरको सामाग्रीमा ८० हजार, मिक्चरमा १० हजार, सेटिङको समानमा ४० हजार, लेबर मिस्त्री खर्च ३ लाख ५० हजार, ट्याक्टरको ९५ हजार ८ सय र ६६ टिप ढुङ्गा बराबर ३ लाख रुपैयाँ खर्च भएको उहाको भनाई छ । यो विवरणको मुल्याङ्कन गर्दा बजेट भन्दा झन्डै १ लाख ७८ हजार बढि हुन जान्छ । यसरी बजेट भन्दा बढि खर्च देखिनुको कारण केहो ? भनेर सोध्दा श्रमदान लगायत अन्य सबै जोडेर यती हुन गएको उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिले दिएको खर्च शिर्षक

अहिले १२ लाख ९८ हजार मात्रै भुक्तानी भएको उपभोक्ता समितिको भनाई रहेको छ । उपभोक्ता समितिको अध्यक्षमा कुमार बस्नेत रहनुभएको थियो भने कोषाध्यक्षमा यसुदा डाँगी रहनुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।