साढे २ करोड डिल गरेको आरजुको अडियो मिल्यो

काठमाण्डौ, २५ असार नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कठायतले आइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मेल खाएको उल्लेख गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै कराडौं असूली गरिएको प्रकरणको अनुसन्धान गरिरहेका बेला दुई महिना अघि कांग्रेस सांसद् आरजु राणा र मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भयो । त्यो अडियो सम्वादमा दाङका सन्देश शर्माले अर्का व्यक्तिसँग आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको जिकिर गरेका थिए ।

प्रहरीका अनुसार पीडितहरुले डेढ वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा जाहेरी दिँदा उपलब्ध गराएको ८ मिनेट २० सेकेण्डको अडियोमा आरजु र मञ्जु जोडिएको ‘क्लीप’ पनि बुझाएका थिए । चैत २०७९ मा आरोपितहरु पक्राउ गरेर अनुसन्धान थालेपछि एकाएक राणा र खाँणको नाम उल्लेख भएको अंश बाहिरिएको थियो भन्दै अनलाइन खबरले समाचार प्रकाशीत गरेको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया