रेशम चौधरीको कैद माफी मिनाहा नगर्न भन्दै इन्स्पेक्टरकी पत्नीद्धारा राष्ट्रपति कार्यालयमा निवेदन

काठमाडौँ, १२ जेष्ठ ।  टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा ‘१०१८’ दर्ता नम्बर लिएर निवेदन दर्ता गराएको उहाले बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयमा बुझाएको निवेदनमा बोहराले रेशम चौधरीको कैद माफी मिनाहा नगर्न आग्रह गर्र्नु भएको छ । रेशम चौधरीको आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ’ बोहराले राष्ट्रपतिको कार्यालयमा पेश गरेको निवेदनमा भनिएको छ, ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र मजस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस बाँकी कहीँ छैन ।’ उक्त निवेदनमा भनिएको छ ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट इन्स्पेक्टर केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो । उक्त प्रदर्शनको नेतृत्व गरेको अभियोग लगाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अदालतको फैसलाअनुसार जेलमा रहेका छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरेको छ । तीन तहको अदालतले निरूपण गरेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरेर राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँस्न इन्स्पेक्टर पत्नी बोहराले आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया