मेडिकल माफियाको आडमा अस्पतालमा मनपरीतन्त्र बन्द गर !

राप्ती प्रादेशिक अस्पताल पश्चिम दाङको पहिचान हो । यो कसैको जागिर बचाउने अड्डा भन्दा पनि उपचार सेवा दिनका लागि स्थापना गरिएको अस्पताल हो । अस्पताल भएर डाक्टर आएका हुन् । सेवा सुविधा केहि पनि नहुँने ठाउँमा किन बिरामी आउने ? बिरामी नआउने ठाउँमा डाक्टरलाई सेवा सुविधा दिएर किन राखिराख्नु पर्ने ? यतातर्फ आम नागरिकको ध्यान जान जरुरी छ । जहाँ सबैभन्दा बढि गरिब तथा विपन्न वर्गका नागरिकहरु उपचारका लागि आउँने गर्छन् । जहाँ जेष्ठ नगारिक, असाहय , असक्त, अपाङ्गता भएका व्यक्तिहरु नै प्रायजसो आउने गर्छन् । हुनेखाने वर्गहरु प्रादेशिकमा एकघण्टा लाइन लागेर ब्लड चेक गरेर डाक्टरको कोठामा जाँदा नभेटिएर रित्तै फर्किनु भन्दा सुरुमै निजी हस्पीटलमा गएर उपचार गराउँछन् । दाङमा सम्भव नभए देशका ठूला शहरहरुमा गएर पनि उपचार गराउँछन् ।

तर गरिब भने निजी मेडिकल वा अस्पताल जानुभन्दा सरकारीमा सस्तो हुन्छ भन्ने आशाका साथ आर्थिक अभावले अस्पतालको शरणमा उपचारका लागि पुग्छन् । तीनै वर्गहरुको उपचार गर्ने थलोमा ढिलासुस्ती, अनियमितता, उपकरण बाड्ने, बिग्रीने, डाक्टर नभेटिने, कमिशनको भरमा आवश्यकता भन्दा बढि औषधीहरु भिराईदिने गरिन्छ । यसको अनुगमण सुपरिवेक्षण कसले गर्ने ? यतातिर कसका आँखा लाग्ने । कहिलेकाँही पत्रकार, राजनीतिक दल, गन्नेमान्ने मान्छे जाँदा पहिल्य नै सम्पर्क गरेर जान्छन् । जाँदा सबै भेटिन्छन् । चेकजाँच गर्छन । मुसुक्क हाँसीदिन्छन् । मख्ख परेर फर्किन्छन् । त्यही ठाउँमा जनता जान्छन् । तीनै गरिब दुःखी जनता जाँदा मेसिन बिग्रेको हुन्छ । विद्युत लाइन हुँदैन । लाइन भए मान्छे भेटिदैन् । डाक्टर सोध्दा उल्टै खप्की खान्छन् । अनि हजुर डाक्टर सायब भन्दै लुरुक्क फर्केर आउँछन् । यस्तो पिडाका बाबजुत पनि जनताको उपचारका लागि आएका मेसिन बाहिर पठाउने काम गरिन्छ ।

आएका मेसिनलाई काममा लगाउने कि कसैले चिठ्ठी लेखेको भरमा दिने ? हुँदा हुँदा मिर्गौलाका बिरामी छटपटाउन थाले । उपचार अभावमा उनिहरुको अकालमै ज्यान जान थाल्यो भनेर उपकरण फिर्ता ल्याउ भन्दा उल्टै केहि मेडिकल माफिहरु घटनालाई ढाकछोप गर्न लागि परेका छन् । किनी अस्पताल अस्तव्यवस्थ हुँदा तीनै मेडिकल माफियालाई फाइदा हुन्छ । जनताको खुनपसीन लुट्न पाइन्छ । अस्पतालको निमित्त मेसु ओम प्रसाद अर्यालले डाइलासिस मेसिन दिएको स्वीकार गर्दागर्दै केहि भाडाका भरौटेलाई प्रयोग गरेर मेसुलाई लगाएको यो गलत आरोप हो भन्दै फेसवुकमा लेख्न लगाइन्छ । भरौटेलाई प्रयोग गरेर मेसुले दिएको होइन भनेर एक लाइन माथि लेख्न लगाइन्छ अनि दिएको पुष्टि हुनेगरि नेपालगञ्ज मेडिकल कलेजले डाइलासिस मेसिन मागेको चिठ्ठी पनि पोष्ट गरिन्छ । अब यसलाई तपाँई के भन्नुहुन्छ ? यसैगरि मेसुलाई चोख्याउन र घटनालाई ढाकछोप गर्न शुक्रबार तुलसीपुरका केहि मेडिकल माफियाहरु दिनभर डाइलासिस मेसिन मागेको चिठ्ठी आफ्ना अनुकुल साथीभाइ, राजनीतिक दल, पत्रकार लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई म्यासेन्जरमा पठायर फेसवुकमा मेसुका पक्षमा पोष्ट गर्न भनिरहेका थिए । यो तपाई हाम्रो जनताको सार्वजनिक सम्पति हो । सबैको सरोकार र चासोको विषय पनि हो ।

अस्पतालको विषयमा, जान्न, बुझ्न, खोजीनीति गर्ने अधिकार हरेक नागरिकलाई छ । आज टरिगाउँ यरपोर्टमा आएको इन्धन भर्ने बाउजर जान दिएको भए इन्धन डिपो हुनथिएन । रोक्नलाई दबाब दिइएको घटना अहिले पनि तुलसीपुरबासीमा ताजै छ । बाउजर रोक्नलाई तुलसीपुर उपमहानगरका उपमेयर स्यानी चाैधरी गएर ताला लगाएको कुरा पनि सर्वविदितै छ । यति छिटै कसैले विर्सीएका पनि छैनन् । नागरिकको उपचार गर्न आएको डाइलासिस मेसिन काम चलाउ डाक्टरले बाड्न पाइन्छ ? यो तुलसीपुर बजारका पसल पसलमा पाइने सस्तो सामान हो र ? विकास समितिसंग कुनै निर्णय नगरेर हचुवाका भरमा दिन मिल्छ ? अस्पताल विकास समितिमा बसेका स्थानीय सरकार प्रमुख, दाङको प्रमुख जिल्ला अधिकारीलाई सोध्नु पर्दैन् । धैरै दबाब भए तुलसीपुरका राजनीतिक दल, नागरिक समाज, पत्रकारलाई बोलायर समस्या दर्साउनु पर्दैन ? त्यसकारण यस्तो मनपरीतन्त्रको अन्त्य नगरे यो समस्या दोहरीरहन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया