२०८३ कार्तिक ८ गते शनिवार

गायक सपुतकाे आलाेचना : यौनको लिलाम धन्दा !

लेखक : यादव देवकाेटा

तुलसीपुर ५ वैशाख ।  प्रकाश सपुत मलाई मनपर्ने गायक हुन्।कान्तिपुर कन्क्लेवमा  उनको विमर्श सुनेपछि उनको सामाजिक चेतनाको उच्चताले मलाई कायल बनाएको थियो । तर, चेतनाको परीक्षा कस्तो हुन्छ भने –यसमा एउटा घडीको एउटा टिकटिके आवाजले मात्रै पास दिँदैन। दिएपनि सधैंलाई दिँदैन। प्रकाश जातीय या वर्गीय सवालमा तैबिसेक गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन्। उनले महिलालाई फगत हाटबजारको बिकाउ माल भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा भएपछि, अवसरको आश देखाएर महिलालाई जसरी पनि खेलाउन सकिन्छ, उसको योनि लिलाम गर्न सकिन्छ भन्ने सन्देश उनले वितरण गर्न चाहँदा रहेछन्।

रातमा काम गर्ने, पाउजु लगाउने,सुनको बाला लगाउने, बुलाकी लगाउने,(रातो) स्कुटर चढ्नेहरु योनी लिलाम गर्नेे यौन बजारको माल हुन् भन्ने उनको बुझाई रहेछ। निश्चय नै पुँजीवादी आर्थिक उत्पादन प्रणालीले समाजमा मच्चाएको शोषण, दोहन र उत्पीडनको उत्कर्षमा मानिसहरु कथित उत्कृष्ट र निकृष्ट पेशामा संलग्न हुन अभिसप्त छन्।यौन बजारमा यौन व्यवसाय चलाउन विवश महिला, पुरुष, समलिङ्गी, तेस्रोलिङ्गीहरुको संख्या नेपालमै पनि अत्यासलाग्दो छ। यो मान्छेको आत्मबल निचोरेर बजारमा बेच्ने परिस्थिति विरुद्धको संघर्ष एउटा गम्भीर संघर्षको बिषय हो। यसउपर बेग्लै विमर्शको आवश्यकता छ।

सम्पत्तिमाथिको स्वामित्वको एकाधिकारका कारण हरेक क्षेत्रमा अवसर दिने, अघि बढाइदिने प्रलोभनमा पारेर महिलामाथि यौन शोषण गर्ने ताक कुरेर बसेका यौनभक्षी पुरुषहरुको बोलवाला छ। इज्जत र चरित्रको सामन्तवादी भाष्यलाई रक्षाकवच बनाएर आफुले गरेको शोषण र उत्पीडनमा पनि महिलाको मुख थुन्न पुरुषसत्ता आजसम्म सफल छ। सकम्बरीमा तेरो बुलाकी कहाँबाट आयो? पाउजु÷सुनको झुम्का÷रातो स्कुटर कहाँबाट आयो? कसले दियो ? भन्दै तेरो गालामा वैंश कति टिक्छ भनेर प्रश्न गर्ने पात्र उही छ – जसले फूलमायालाई शहरमा ल्याउँछ र जागिरको प्रलोभनमा पारेर यौन शोषण गर्छ। प्रलोभनमा पारेर युवतीको योनीको लिलाम गरेवापत जेलमा सड्नुपर्ने पुरुषलाई कुन नैतिक जगले उही आफुले यौन शोषण गरेको युवतीको योनीको इज्जतबारे प्रश्न गर्ने दुस्साहस आयो? यस्तो दोगला र पाखण्डी क्रान्तिकारी चेतले समाजलाई कसरी डसिरहेको छ भन्ने प्रमाण उनको गीतको बजार खपत पनि हो।

महिलाको इज्जत योनीमा हुन्छ र त्यसको सदुपयोग या दुरुपयोग इज्जत र चरित्रको सवाल हो भन्ने चेतना भयानक विषाक्त छ। बलत्कार गरिएका महिलाको सन्दर्भमा योनीच्छदको बिषयलाई इज्जत र चरित्रसँग जोडिएर गरिने टिप्पणी यही भाष्यको जगमा उभिएको छ। त्यसमाथि पनि पुरुष को हो जो महिलाको योनी र त्यसउपरका आन्तरिक क्रियालाई लिएर महिलामाथि इज्जतको कक्षा चलाउँछ गीतमार्फत, कवितामार्फत्, निवन्धमार्फत, समाचारमार्फत या फेसबुकका टिप्पणी मार्फत ?

आफैंले शहरमा ल्याएर जागिरको प्रलोभनमा पारेर यौन शोषण गरेको युवतीको बारेमा उही पुरुषलाई बडो क्रान्तिकारी चिन्ता छ–तिम्रो कानको झुम्का कसरी आयो?पाउजु कसरी किन्यौ?रातो स्कुटर कसले किन्दियो?तिम्रो बैंसको आयु कति छ? यस्तो दोगला चरित्र गीतको नाममा बेचेर भातको जोहो गर्नुपर्ने विवश परिस्थिति भन्दा भयानक शानदार काम हो – यौनको लिलाम धन्दा। प्रिय मित्र ! प्रिय गायक !! तिम्रो गीतको इज्जत महिलाको योनीले कति बोकिरहनु पर्ने हौ ?

यस्ताे छ प्रकाश सपुतकाे विवादित गीत   
प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।