भवन बनेको चार बर्षपछि आफ्नै कार्यालयबाट सेवा दिदैँ बागचौर

सल्यान, ११ माघ । सल्यानको बागचौर नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । भवन निर्माण भएको झण्डै चार बर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको हो । आफ्नै भवन नहुदाँ घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरले भवन निर्माण हुदाँ पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सकेको थिएन् ।

जसका लागि नगरपालिकाले बागचौर नगरपालिका २ बागचौरकै स्थानिय टिकाराम वलीको घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको थियो । विगतमा घरभाडा बाफत १० प्रतिशत करकट्टी गरेर ४४ हजार एक सय रुपैँया तिर्दै आएको नगरपालिकाले अहिले १० प्रतिशत करकट्टी गरेर ४८ हजार ५ सय १० रुपैँया तिर्दै आएको छ । नगरपालिका आफ्नै भवनमा सरेपछि घरभाडा बाफतको मासिक झण्डै ४८ हजार रुपैयाँ वचत हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख जनकराज गौतमले विगतमा विविध समस्याका कारण आफ्नै भवनमा सर्न नसकिएपनि अहिले ती समस्याको समाधान भएकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न लागिएको जानकारी दिनुभयो ।

‘विगतमा नगरपालिकाको भवनको बिषयमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, कोरोना महामारीको बेला भवनमा आइसोलेसन निर्माण गरिएको थियो, ती समस्याका कारण आफ्नै भवनमा सर्न समस्या भएको थियो’ उहाँले भन्नुभयो ‘अहिले अक्तियारमा परेको उजुरीको किनारा लागेको छ, अन्य समस्याहरु पनि समाधान भएका छन्, हामी निर्वाचित भएपछि आफ्नै भवनबाट सेवाप्रवाह गर्ने अठोट लिएका थियौँ, अहिले सफल हुदैँछौँ ।’

नगरप्रमुख गौतमले अव आफ्नै भवनमा सरेपछि नगरपालिकाको सेवा प्रवाहमा थप सहजता आउने बताउनुभयो । भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालिसँग भ्याट बाहेक ३ करोड २९ लाखमा सम्झौता गरेको थियो । भवन निर्माणको काम २०७५ चैतमा सम्पन्न भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार गौतमले नगरपालिका आफ्नै भवनमा सरेपछि घरभाडा बाफतको रकम वचत हुने बताउनुभयो । उहाँले नयाँ भवनमा रहेका कोठा केही अपर्याप्त देखिएपनि कोठाहरुको पार्टेशन गरेर सेवाप्रवाह गरिने बताउनुभयो । ‘अहिले एक तले भवन भएकाले कोठा व्यवस्थानमा केही समस्या देखिएपनि तला थप गर्नको लागि पहल गरेका छौँ, त्यो काम पुरा भएमा हामीलाई पर्याप्त हुन्छ’ उहाँले भन्नुभयो ।

अहिले नगरका अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेर कार्यालय सार्ने काम भैरहेको उहाँको भनाइ छ । ‘कार्यालय व्यवस्थापन तथा सामग्री स्थानान्तरणमा कर्मचारी खट्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर हामीले बुधबार, विहीबार र शुक्रवार कार्यालय व्यवस्थापन गर्दै छौँ, आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सेवालाई थप स्तरीय र प्रभावकारी बनाउने छौँ’ उहाँले भन्नुभयो ।

नगरपालिकाको भवन निमार्णका लागि स्थानियले बागचौर नगरपालिका वडा नम्बर २ बागचौरमा जग्गादान गरेका थिए । भवन निर्माणको लागि जग्गा दान गर्ने ३३ जना जग्गादाता र २३ जना नगद चन्दादातालाई सम्मान गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया