२०८३ जेष्ठ २५ गते सोमवार

  बिना तर्कको विरोध

“स्मार्ट सिटीका, स्मार्ट खाल्टाखुल्टी” भन्दै एकजना अल्ली बढि नै जान्ने बुझ्ने देखिने भलाद्मीले आफ्नो घर अगाडिको सडकको फोटो सहित  सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हो यो ।  त्यो स्टाटस माथि सम्बन्धीत विषयमा एकदमै जानकार व्यक्तिहरूबाट नै एकदमै तुच्छ एवम् कुतार्किक टिप्पणीहरू भएको देख्दा नयाँ संविधानमा व्यवस्था गरिएको वाक स्वतन्त्रतालाई दुरुपयोग गरिएको प्रष्टै अनुभव गर्न सकिन्छ । सामान्य जनताले जसलाई आफ्नो आदर्शको रुपमा मान्छन्, उनीहरूमा नै नकारात्मक मानसिकता हाबी भएको देख्दा केही गर्छु भनेर अगाडि बढेको अभियन्तालाई साथ कस्ले दिने ? उसको पक्षमा को उभिने ? अहिलेको जटिल प्रश्न बनेको छ ।  जनताको अपेक्षा अनुरुप काम हुन नसक्दा राजनीतिक दल र राजनीतिक व्यक्तिहरू प्रति नागरिकको वितृष्णा पैदा हुनु स्वभाविक हो तर सबै जनाको स्वभाव त उस्तै हुँदैन र छैन पनि । जुनसुकै अभियानको पनि सतही रुपमा हुने आलोचना त्यसबाट हुने घाटाको भागेदारी हामी सम्पूर्णलाई हुन पुगेको छ ।

स्मार्ट सिटी एउटा भिजन हो , यसको अर्थ यो होइन कि आज भिजन अथवा गुरुयोजना सार्वजनिक ग¥यो भोलि नै त्यो काम सम्पन्न होस् । यत्ति सम्मको कुरा बुझ्ने ल्याकत त हामीले राख्छौं र बुझेका पनि छौं । तर विरोधको नाममा पत्याउनै नसकिने अथवा निच तर्क प्रस्तुत गरेर कतै हाम्रो गाउँ, समाज र राष्ट्रको विकासमा हामी नै बाधक त बनेका छैनौं । कुनै एक व्यक्तिले ल्याएको भिजन ठिक छ की गलत छ, यसलाई सफल बनाउने वा असफल बनाउने जिम्मा हामी सामान्य नागरिक माथी पनि छ , यदि यो ठीक छैन भने पनि उपयुक्त तर्क सहित पुर्वाग्रह बिना आफ्नो बिचार सहित अगाडी आउनु अहिलेको आवश्यकता हो । अब पनि हामीले राजनितिक दल नमिलेको , व्यक्तिगत रुपमा व्यक्ति मन नपरेको, प्रगती देख्न नसक्ने बाहनामा समाज र राष्ट्रलाई फाइदा पुग्ने अभियानमा रोकावट पैदा गर्न कत्तिको सान्दर्भिक हुन्छ ? त्यो बुझ्न जरुरी छ ।
परिवर्तनको सम्बाहक मानिने युवा जमातले नै स्वयम् आफुले राजनितिक दलको गोटीको रुपमा प्रयोग भईरहने हो भने अन्य देशको जस्तै आफ्नो देशको पनि विकास आकाशको फल , आँखा तरी मर हुन्छ । आफुलाई चुनावको बेलामा मात्र प्रयोग गर्ने राजनितिक दल वा नेताको पछि लाग्ने की युवाका सवालहरुलाई आफ्नो एजेण्डाका रुपमा अघि सार्ने नेता संगसंगै हिड्ने त्यो निर्णय गर्ने अधिकार हाम्रै हातमा छ । कलेजहरुमा, विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई चर्काचर्का भाषण मार्फत बुर्जुवा शिक्षाको बिरोध गर्दै विभिन्न आन्दोलनमा सहभागी गराउने, बिद्रोह पैदा गराउने किसिमको राजनितिक परिपाटिको औचित्य सकिएको र अबको समय भनेको उद्यमशिलताको हो । युवाहरु , विद्यार्थीहरुलाई विभिन्न सिप मार्फत उद्यमशिल बनाई आर्थिक परिवर्तनको समय र आवश्यकता भएको कुरा बुझ्नसक्ने हामी भइसकेका छौं । आफ्ना भाषणमा चर्का चर्का सवालहरुलाई उठाउनेहरुले आफ्नो व्यवहारमा कत्तिको लागु गरेका छन् वा छैनन् , कतिले आफ्ना एजेण्डामा उठाएका सवालहरुलाई कार्यान्वयनका लागि अघि बढाएका छन् यो छर्लङ्ै छ यसैका आधारमा पनि हामीले आफ्नो निर्णय गर्न सक्ने भएका छौं ।

स्पष्ट दृष्ट्रिकोण भएको, सक्षम, सवालहरु उठाउन सक्ने, क्षमतावान व्यक्ति यहि हो भन्ने थाहा हुदाहुदै पनि, हाम्रो मान्छेलाई भन्दा पनि राम्रो मान्छेलाई छान्नुपर्छ भन्ने थाहा हुदाहुदै पनि , जब हामी छनौट गर्ने बेला हुन्छ तब हामी भने राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छेलाई छनौट गरिरहेका हुन्छौं अथवा छौं । हामीले आफ्नो छातीमा हात राखेर यो कुरालाई स्विकार गर्नै पर्छ । विभिन्न समयमा भएका विभिन्न विषयमा केन्द्रित रहेका आन्दोलनका उपलब्धीका कारण पनि सामान्य जनता पनि अधिकार सम्पन्न भएका छन् । उनीहरुमा सरकारले गर्ने विभिन्न कर्तव्य र अधिकारका विषयमा जानकार हुन चाहान्छन् र भइरहेका छन् ।

पछिल्लो समय देशभित्र र बाहिर हुने हरेक क्रियाकलापका विषयमा सामान्य सामान्य नागरिकहरु पनि जानकार भइरहेका हुन्छन् । सञ्चार माध्यमहरु संगको सहज पहुँचका कारण पनि यस्तो भएको हो । देशका अधिकाँश ठाउँहरु सञ्चार संग जोडिनु, आधिकांश नागरिकहरुको हात हातमा स्मार्ट फोन हुनु, सामाजिक सञ्जालहरु प्रयोग गर्नुका कारणले पनि सामान्य नागरिकहरु पनि देश विदेशमा हुने सम्पुर्ण खालका घटनाहरुका बारेमा जानकार हुन्छन् ।

चिया पसलहरुमा हुने भेला, अफिसहरुमा हुने भेट, यातायातका साधनमा विभिन्न समयमा विभिन्न मानिसहरुसंग गरिने यात्रा लगायतका क्रममा हुने छलफलमा देशको विकास नभएको, राजनितिक दलहरुले निति र बिचार अनुरुप काम नगरेको, देश र जनताको हितमा लाग्ने अठोटका साथ मैदानमा उत्रिएका राजनितिक दलका नेताहरु, सामाजिक संघसंस्थाहरुको नेतृत्व सम्हालेका नेतृत्वकर्ताले खुल्ला तरिकाले आफ्नो दुनो सोझ्याउन तिर लाग्नाले पनि प्रत्येक नागरिकमा वितृष्णा पैदा भएको आभाष गर्न सकिन्छ ।

अहिलेको ताजा समय भने नजिकै आइरहेको संघ तथा प्रदेशको निर्वाचनको विषयको चर्चा परिचर्चामा लागेको छ ।  देश संघिय व्यवस्थामा गए पश्चात वि.सं. २०७४ सालमा भएको संघ तथा प्रदेशको  निर्वाचनको समयावधी  पुरा भईसकेको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागी संघ तथा प्रदेशको अर्को चुनावको मिति तय गरेको छ । सोही अनुरुप अहिले निर्वाचन आयोग, निर्वाचन कार्यालय, राजनितिक दलका नेता, कार्यकर्ता लगायत मतदाताहरु पनि सोही निर्वाचनको तयारीमा लागेका छन् ।

अहिले विभिन्न माध्यमबाट प्राप्त गरिने सुचना, समाचारहरु, विभिन्न सार्वजनिक स्थलहरु, टोल, समाज, घर लगायतका ठाउँहरुमा सुनिने गफका विषयवस्तुहरुबाट पनि यो देश भरी नै अहिले चुनावी माहोल रहेको कुरा सहजै महशुस गर्न सकिन्छ । निर्वाचन कार्यतालिका, आचारसंहिता, सम्बन्धित राजनितिक दलका विभिन्न पदमा उमेद्वारहरुको मनोनयन दर्ता  भएसंगै उमेद्वारहरुलाई मतदाताको घरदैलो सम्म पुग्न भ्याइ नभ्याइ छ  । राजनितिक व्यक्तित्वहरु मात्र होइन अहिले बालक देखि बृद्धसम्मले पनि निर्वाचनलाई चासोको विषयको रुपमा लिएको देख्न, सुन्न र पढ्न सकिन्छ । सबै काम नेताले गरिदिने होइन , उनीहरुले सुरुवात मात्र गरिदिने हो त्यसलाई उचाइमा पु¥याउने वा वेवारिसे बनाउने भन्ने कुरा हाम्रो हातमा छ । त्यसैले आजको समयका हामी नागरिकले नेता वा सरकारलाई दोष थुपार्ने मात्र नभएर समग्र विकासका लागि आफ्नो अधिकार र कर्तव्यको पहिचान गरी निष्पक्ष तरिकाले आफ्नो ठाउँबाट उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने आजको आवश्यकता हो । 

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया